काठमाडौं । काठमाडौं महानगरपालिका तेश्रो जुनियर आमन्त्रण मेयर कप तेक्वान्दो प्रतियोगितामा शनिबार टिम च्याम्पियन बनेको छ ।
आयोजकको २ सहित २० टिम सहभागी प्रतियोगितामा काठमाडौं सर्वाधिक ८ स्वर्ण, २ रजत र १ कांस्य जित्दै समग्रमा टिम च्याम्पियन बनेको हो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको प्रतियोगितामा आयोजक जैशीदेवल युथ क्लब ‘बी’ दोश्रो भयो । जैशीदेवलले ३ स्वर्ण, १ रजत र ३ कांस्य जित्यो । तेश्रो स्थानको भक्तपुर नगरपालिकाले २ स्वर्ण र ४ कांस्य हात पार्यो ।
प्रतियोगिताको गेरोगीतर्फ पुरुषमा आयोजक ‘बी’ का सुरेशहाङ लिम्बू तथा महिलामा काठमाडौंकी दिया रजक उत्कृष्ट खेलाडी घोषित भए । पुम्सेको पुरुषमा गोदावरी नगरपालिकाका पिरव महर्जन तथा महिलामा बूढानीलकण्ठ नगरपालिकाकी युनिका खतिवडा उत्कृष्ट खेलाडी चुनिए । उत्कृष्ट चारैले १ सय अमेरिकी डलर नगद पुरस्कार पाए ।
काठमाडौंका सौरभ रजक उत्कृष्ट प्रशिक्षक तथा भाष्कर श्रेष्ठ उत्कृष्ट निर्णायक बने । दुवैले जनही १ सय ५० अमेरिकी डलर पुरस्कार हात पारे ।
विजेतालाई काठमाडौं महानगरपालिकाका प्रवक्ता एवं वडा १७ का अध्यक्ष नवीन मानन्धर, आयोजक क्लबका अध्यक्ष राजेश प्रजापतिलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने प्रतियोगितामा विभिन्न २० स्पर्धामा ३ सय खेलाडी सहभागी थिए ।