काठमाडौं । आयोजक जैशीदेवल युथ क्लब ‘बी’ का रोशन तामाङले तेश्रो जुनियर आमन्त्रण मेयर कप तेक्वान्दो प्रतियोगितामा शुक्रबार स्वर्ण जितेका छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको पुरुष १५–२८ केजी फाइनलमा रोशनले भक्तपुर नगरपालिकाका कपिल थामीलाई पराजित गरे । भक्तपुरका सोबराज तामाङ र नागर्जुन नगरपालिकाका युवराज फुयाँल तेश्रो भए ।
महिला २३–२६ केजीमा भक्तपुरकी जेनी जोशी पहिलो भइन् । जेनीले फाइनलमा बाह्रविसे नगरपालिकाकी इभाना श्रेष्ठलाई हराइन् । गोदावरी नगरपालिकाकी सन्दना घिमिरे र आयोजक ‘ए’ की सुप्रिया जोशी तेश्रो बने । पुरुष ३१–३४ केजीमा काठमाडौं महानगरपालिकाका रोहन भुजेलले फाइनलमा तार्केश्वर नगरपालिकाका रोजन घलेलाई पाखा लगाउदै स्वर्ण जिते । मध्यपुर नगरपालिकाका सुमन मोक्तान र बाह्रविसेका मनीष थापाले कांस्य हात पारे ।
पुरुष एकल पुम्सेमा गोदावरीका निरब महर्जन पहिलो, महालक्ष्मी नगरपालिकाका आयुश मोटे दोश्रो तथा निलकण्ठ नगरपालिकाका समिर तामाङ र ललितपुर महानगरपालिकाका विलबराज क्षेत्री तेश्रो भए । उक्त स्पर्धाको महिलामा बूढानीलकण्ठ नगरपालिकाकी युनिका खतिवडा पहिलो, गोदावरीकी सरगम थापा दोश्रो तथा तार्केश्वरकी कुन्जिता गुरुङ र निलकण्ठकी सुवानी तामाङ तेश्रो भए ।
प्रतियोगितामा विभिन्न २० स्पर्धामा ३ सय खेलाडीको सहभागिता रहेको आयोजक क्लबका अध्यक्ष राजेश प्रजापतिले जनाएका छन् । प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।