काठमाडौं । सर्बियन टेनिस स्टार नोभाक जोकोभिच अष्ट्रेलियन ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छन् ।
मेलबर्नमा शुक्रबार भएको दोस्रो सेमिफाइनलमा अमेरिकी खेलाडी टोमी पाउललाई हराउँदै जोकोभिचले फाइनलको यात्रा तय गरेका हुन् ।
९ पटकको च्याम्पियन जोकोभिचले टोमीलाई ७-५, ६-१ र ६-२ ले पराजित गरे ।
जोकोभिच १० औं पटक अष्ट्रेलियन ओपनको फाइनलमा प्रवेश गरेका हुन् ।
जोकोभिच दशौँ पटक अष्ट्रेलियन ओपन जित्ने योजनामा रहेका छन् ।
३५ वर्षीय जोकोभिचले गत वर्ष भने खेल्न पाएका थिएनन् ।
कोभिड-१९ को खोप नलगाएको कारण उनलाई फर्काईएको थियो ।
यस वर्ष भने अष्ट्रेलिया सरकारले खोप विना प्रवेश निषेधलाई फुकुवा गरेको थियो ।
अब जोकोभिचले उपाधिका लागि ग्रीसका स्टेफानोस सित्सिपाससँग खेल्नेछन् ।
पहिलो सेमिफाइनलमा रुसका करेन खाचानोभलाई हराउँदै सित्सिपासले फाइनलमा स्थान पक्का गरिसकेका छन् ।