काठमाडौं । दोस्रो संस्करणको राइट टु प्रोटिन रन हाफ म्याराथनको उपाधि एपीएफका दीपक अधिकारी र एपीएफकी फूलमती रानाले जितेका छन् । दशरथ रंगशालामा शनिबार भएको प्रतियोगितामा आर्मीका अधिकारी र एपीएफकी रानाले उपाधि जितेका हुन् ।
नेपाल भेटेरिनरी एसोसियसनले आयोजना गरेको प्रतियोगितामा दीपकले निर्धारित दुरी १ घण्टा ५ मिनेट ८ सेकेन्डमा पुरा गरे । महिलातर्फ फुलमतीले निर्धारित दुरी १ घण्टा २२ मिनेट २२ सेकेन्डमा पुरा गरिन् । विजेता दुवै खेलाडीले जनही १ लाख रुपैयाँ पुरस्कार प्राप्त गरे ।
पुरुषमा राजन रोकाया दोस्रो र नरेन्द्र सिंह रावल तेस्रो बने । महिलामा राममाया बुढा दोस्रो र पूर्णलक्ष्मी न्यौपाने तेस्रो बनिन् ।
यस्तै, १० किलोमिटर पुरुष दौडमा आर्मीका मुकेश पाल पहिलो बने । उनले निर्धारित दुरी ३० मिनेट ५८ दशमलव ०१ सेकेन्डमा पुरा गरे । महिला ५ किलोमिटरमा आर्मीकी गीता विक र पुरुषमा सञ्जिव नेपाली पहिलो बनेका थिए । तीन किलोमिटर महिला स्कुल स्पर्धामा कल्पना बुढा पहिलो, हिमाली शाही दोस्रो र दिपशिखा शाही तेस्रो बने ।
ह्विल चियरको पुरुषमा प्रेमबहादुर विक र महिलामा रजनी राई पहिलो बने ।
विजेता खेलाडीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राखेप सदस्य सचिव टंकलाल घिसिङ लगायतले पुरस्कृत गरेका थिए । प्रतियोगितामा करिब ५ हजार धावकले सहभागीता जनाएको नेपाल भेटेरिनरी एसोसियसनका अध्यक्ष सितलकाजी श्रेष्ठले जानकारी दिए ।