कोहलपुर । काठमाडौंमा शनिबार आयोजना हुने दोस्रो संस्करणको प्रोटिन रन हाफ म्याराथनमा भाग लिन बाँकेबाट चार खेलाडी बिहीबार त्यसतर्फ प्रस्थान गरेका छन् ।
गत मंसिर २४ गते सम्पन्न आठौं धारा नेपालगन्ज म्याराथनमा राम्रो प्रदर्शन गरेका खेलाडीलाई प्रोटिन रन हाफ म्याराथनमा सहभागि गराइएको हो ।
प्रोटिन रनअन्तर्गत पुरुष हाफ म्याराथनमा बलबहादुर सुनार, पाँच किलोमिटर स्कुल छात्र दौडतर्फ निशान्त थारु र अतुल गोडिया तथा स्कुलस्तरीय ३ किलोमिटर छात्रा दौडमा दीपशीखा शाहीले भाग लिनेछन् ।
कोहलपुर नगरपालिका मेयर पुर्ण आचार्य, राष्ट्रिय खेलकुद परिषद सदस्य एलबी क्षेत्री र नेपालगन्ज म्याराथनका प्रमुख सञ्चालन अधिकृत(सिओओ) सौगातविक्रम शाहले खेलाडीलाई बिदाइ गरे ।
नेपालगन्ज म्याराथनमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई विभिन्न म्याराथनमा सहभागी गराउने योजना बमोजिम जिल्लाका खेलाडीलाई सहभागिताको पहल र सहयोग गरिएको सिओओ शाहले बताए ।
आठौं धारा नेपालगन्ज म्याराथनमा बलबहादुरले ४२.१९५ किमीतर्फ सातौं स्थान, अतुलले स्कुलस्तरीय पाँच किलोमिटरमा पहिलो, दीपशीखाले स्कुलस्तरीय तीन किलोमिटरमा तेस्रो स्थान हासिल गरेका थिए ।
निशान्त चोटका कारण त्यतिबेला राम्रो नतिजा दिन चुकेका थिए । खेलाडीको यातायात, आवास तथा भोजन र दर्ताको सम्पुर्ण खर्च क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्ट र कोहलपुर नगरपालिकाले बेहोरेको सिओओ शाहले जानकारी दिए ।