पोखरा। १७ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिता आगामी फागुनमा आयोजना हुने भएको छ ।
नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा हुन प्रतियोगिता फागुन ६ गते हुने छ । खुला म्याराथन ४२.१९५ किलोमिटर, २१.०९७ किलोमिटर हाफ म्याराथन महिला प्रतियोगिता हुने मंगलबार पोखरामा आयोजित पत्रकार सम्मलेनमा जानकारी दिइएको हो ।
महिला÷पुरुष १० किमि दौड, विद्यालय स्तरीय छात्र÷छात्रा ५ किमि, महिला÷पुरुष ह्विल चियर तथा दृष्टिविहिन दौड र ‘रन फर फन’ समेत आयोजना हुने मञ्चका अध्यक्ष हरि पराजुलीले जानकारी दिए ।
खुला म्याराथन विजेताले ५ लाख, दोस्रो हुनेले ३ लाख र तेस्रो हुनेले २ लाख रुपैयाँ प्राप्त गर्नेछन् । महिला हाफ म्याराथन विजेताले १ लाख ५० हजार, दोस्रो हुनेले १ लाख र तेस्रो हुनेले ७५ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।
मञ्चले यसवर्ष देखि सबै इभेन्टका पुरस्कार राशीमा वृद्धि गरेको हो । म्याराथनमा नेपालसहित केन्या, युगोेस्लाभिया लगायतका देशका खेलाडीहरुले सहभागिता जनाउने छन् । खुला म्याराथनतर्फ गण्डकी प्रदेशका खेलाडीहरुलाई प्रोत्साहन गर्न छुट्टै पुरस्कारको समेत व्यवस्था गरिएको मञ्चका महासचिव कृष्ण तिमल्सिनाले जानकारी दिए ।
पत्रकार सम्मेलनमा बोल्दै मञ्चका पूर्व अध्यक्ष तेज बहादुर गुरुङले पछिल्लो म्याराथनका दिन ट्राफिक व्यवस्थापनमा चुनौती थपिँदै गएकाले हरेक घर र टोलले सहजीकरण गरेमा सहजता हुने बताए । उनले पोखरा म्याराथनले (एम्स) को मान्यता प्राप्त गर्नु गर्वको विषय भएको सुनाए ।
यस वर्षदेखि पोखरा म्याराथनले म्याराथनहरुको अन्तर्राष्ट्रिय छाता संस्था एसोसिएसन अफ इन्टरनेशनल म्याराथन एण्ड डिस्टेन्स रेसेस (एम्स) को मान्यता प्राप्त गरेको छ । प्रतियोगितालाई सुजल डेरी प्रा.लि.ले २०७२ देखि मुख्य प्रायोजन गर्दै आइरहेको छ ।
प्रतियोगिता सम्पन्न गर्न ९३ लाख खर्च लाग्ने आयोजकको अनुमान छ । प्रतियोगितालाई सफल बनाउन २३ वटा विभिन्न उपसमिति समेत गठन गरिएको छ ।