काठमाडौं । नेपाल बक्सिङ संघले ६ महिनाभित्र नयाँ नेतृत्वका लागि निर्वाचन गर्ने भएको छ ।
शुक्रबार बसेको पूर्ण कार्यसमितिको बैठकले ६ महिनाभित्र निर्वाचन गर्ने निर्णय गरिएको संघले जनाएको छ ।
'कार्य समितिको बैठकले आगामी संघको अधिवेशन आजका मितिले ६ महिना भित्र खेलकुद ऐन २०७७ को विधान बमोजिम अधिवेशन गर्ने निर्णय सर्वसम्मत निर्णय गरीयो,' संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'यसका लागि राखेपमा आवश्यक पत्राचार गरि मिति लिने निर्णय गरियो ।'
कार्य समितिको बैठकमा संघका अध्यक्ष राम अवाले, वरिष्ठ उपाध्यक्ष अर्जुन बहादुर केसी, उपाध्यक्ष नरेन्द्र पोमो, उपाध्यक्षद्वय भोजराज सिटौला, किरण बहादुर श्रेष्ठ, महासचिव सविन भट्टाचार्य, कोषाध्यक्ष गौतम सुजखु, सदस्यहरु, मान बहादुर भण्डारी, राम बहादुर गिरि, ओम नारायण श्रेष्ठ, पुष्कर राज पन्त, श्याम काजी अवाले, शोभार जंग केसी, लक्ष्मण कार्की, रमेश अधिकारी, पूर्व प्रमुख प्रशिक्षकद्वय प्रकाश थापामगर, ओम मास्के, टेक्निकल संयोजक दीपक महर्जन, दक्षिण एशियाली खेलकुदका स्वर्ण पदक विजेता रामचन्द्र थापामगर, लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
बैठक सञ्चालन अघि बक्सिङको दीगो विकासमा अग्रजहरुको सल्लाह सुझाव पनि लिइएको थियो । संघका संस्थापक अध्यक्ष विष्णु गोपाल श्रेष्ठको प्रमुख आतिथ्यमा पूर्व अध्यक्ष उमेश मास्के, निवर्तमान अध्यक्ष राजीव श्रेष्ठ लगायत संघका कार्यसमितिका पदाधिकारीहरुको उपस्थित रहेको थियो ।
उक्त कार्यक्रममा संस्थापक अध्यक्ष तथा निवर्तमान अध्यक्षले बक्सिङको दीगो विकासका लागि एकताबद्ध भएर अगाडि बढनुपर्ने सुझावहरु प्रस्तुत गरेका थिए ।
साथै संघका सम्पुर्ण पदाधिकारी, सदस्यहरु, संघका सस्थापक अध्यक्ष, पूर्व अध्यक्षहरु, पूर्व प्रमुख प्रशिक्षकहरु तथा रेफ्रिजजहरुले बक्सिङ विकास र एकताको निम्ति हात उठाएर एक्यबद्धता जाहेर गरेका थिए ।