काठमाडौं। नेपालका प्रशंसा मोक्तान, आद्या पौडेल र स्वस्तिका विष्ट २० औं जयकर स्मृति एटीएफ यु–१४ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– २ को गर्ल्स सिंगल्समा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
सातदोबाटोस्थित टेनिस कोर्टमा प्रशंसाले माल्दिभ्सकी नबा निशानलाई ७–५ र ७–५, आद्याले ओमानकी आइशा अल बुसाइदीलाई ६–३ र ६–३ तथा स्वस्तिकाले भारतकी हनी जुमानी गौरवलाई ६–३ र ६–० को सोझो सेटमा पराजित गरे।
मन जयकर टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगिताको ब्वाइज सिंगल्समा नेपालका राजवीर प्रधानले हङकङका यु हिन वोङलाई सीधा सेटमा ६–० र ६–२ ले हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।
सोही स्पर्धामा भारतका सिद्धार्थ जिबु, हङकङका छियोन हेइ करिसन फुङ, भारतका इशान बदाकी, भारतका भिभान मिर्धा, हङकङका वान हिम दोनोभान यिम र कि छियोन मोरिस ताङ तथा पाकिस्तानका जोहेब अफ्जल मलिक पनि आ–आफ्नो प्रतिद्वन्द्वीलाई पाखा लगाउदै क्वाटरफाइनलमा पुगे ।
ब्वाइज डबल्समा भारतका इशान र सञ्जय गिरिस कुमार, पाकिस्तानका जोहेब र यमनका हमुद इयाद, बंगलादेशका नसफ अहमद नासिर र भारतका अर्श वाल्के तथा भारतका सिद्धार्थ र भिभानको जोडीले क्वाटरफाइनलमा स्थान बनाए।
गर्ल्स डबल्समा नेपालकी प्रशंसा र भारतकी तनिशा भत्नागर, भारतकी हनी र नेपालकी प्राज्ना मानन्धर, नेपालकी स्वस्तिका र भारतकी सान्भी रेडी भुन्द्याला तथा नेपालका जेनी खड्का र समृद्धि महर्जनको जोडीले सेमिफाइनलमा स्थान पक्का गरे ।