काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनल फाइनलमा आज आइतबार अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुँदैछ । लुसिल स्टेडियममा हुने फाइनल खेल नेपाली समय अनुसार राति ८:४५ बजे सुरु हुनेछ ।
दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिना र युरोपियन राष्ट्र फ्रान्स तेस्रो पटक विश्वकप उपाधि उचाल्ने योजनासहित मैदान उत्रनेछन् ।
दुबै देशले समान दुई दुई पटक विश्वकप उपाधि जितेका छन् ।
अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा विश्वकप ट्रफी हात पारेको थियो । फ्रान्सले सन् १९९८ र २०१८ मा विश्वकप ट्रफी चुमेको थियो ।
लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिना छैटौं पटक विश्वकपको फाइनल पुगेको हो । मेस्सीका लागि कतार विश्वकप अन्तिम विश्वकप समेत हो । मेस्सीकै लागि भएपनि अर्जेन्टिनालाई विश्वकप उचाल्ने दबाब छ ।
यता, ह्युगो लोरिसको कप्तानीमा रहेको फ्रान्स लगातार दोस्रो पटक विश्वकपको फाइनलमा पुगेको हो । साविक विजेता समेत रहेको फ्रान्स लगातार दोस्रो पटक विश्वकप उचाल्ने अभियानमा रहेको छ ।
अर्जेन्टिना र फ्रान्सले सेमिफाइनलमा सहज जित समेत निकालेका थिए । पहिलो सेमिफाइनलमा अर्जेन्टिनाले क्रोएसियालाई ३-० ले हराएको थियो । दोस्रो सेमिफाइनलमा फ्रान्सले मोरक्कोलाई २-० ले हराएको थियो ।
यस खेललाई मेस्सी र केलियन एमबाप्पेबीचको भिडन्तको रुपमा समेत हेरिएको छ ।
हेड टु हेड -
अर्जेन्टिना र फ्रान्सबीच हालसम्म १२ खेलमा प्रतिस्पर्धा भएको छ । जसमा अर्जेन्टिनाले ६ खेल जितेको छ । फ्रान्सले ३ खेल जित्दा ३ खेल बराबरीमा सकिएको छ ।
पछिल्लो पटक २०१८ मा रुस विश्वकपको राउण्ड अफ १६ मा फ्रान्स र अर्जेन्टिनाबीच प्रतिस्पर्धा भएको थियो । उक्त खेलमा फ्रान्सले अर्जेन्टिनालाई ४-३ गोल अन्तरले हराएको थियो ।
सम्भावित सुरुआती-११
अर्जेन्टिना - एमिलियानो मार्टिनेज, नाहुएल मोलिना, क्रिस्टियन रोमेरो, निकोलस ओटामेन्डी, लिसान्ड्रो मार्टिनेज, निकोलस टाग्लियाफिको, रोड्रिगो डी पाउल, एन्जो फर्नान्डेज, एलेक्सिस म्याक एलिस्टर, जुलियन अल्भारेज, लियोनेल मेस्सी
फ्रान्स - ह्युगो लोरिस, जुल्स कुन्डे, राफेल भाराने, डेओट उपमेकानो, थियो हर्नान्डेज, अरुलिन चुवामेनी, एड्रिन राबीओट, उस्माने डेम्बेले, एन्टोनी ग्रिजम्यान, केलियन एमबाप्पे, ओलिभर जेरुड
प्लेयर्स टु वाच -
यस खेलमा अर्जेन्टिनाका लियोनल मेस्सी र फ्रान्सका केलियन एमबाप्पे प्लेयर्स टु वाचका रुपमा रहेका छन् ।