काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ फुटबलको आइतबार हुने फाईनल खेल पोल्याण्डका साईमेन मार्सिनीयाकले खेलाउने भएका छन् ।
फाईनल खेल कतारको लुसेल स्टेडियममा नेपाली समयअनुसार राति ८ः४५ बजेबाट सुरु हुँदैछ । फाइनलमा फ्रान्स र अर्जेन्टिना बिच खेल हुँदैछ ।
मार्सिनीयाक डेनमार्क र फ्रान्सबीचको समूह चरणको खेलमा रेफ्री रहेका थिए । यसैगरी प्रि क्वाटरफाईनल खेलमा अर्जेन्टिना र अष्ट्रेलियाबीचको खेलमा पनि रेफ्री रहेका थिए ।
मार्सिनियाकलाई पोल्याण्डकै पावेल सोकोल्निच्की र टोमास्ज लिस्त्कीविच्जले असिस्टेन्ट रेफ्रीको भूमिकामा साथ दिनेछन् ।
यस्तै, शनिबार मोरक्को र क्रोएशियाबीचको तेस्रो स्थानका लागि हुने खेलको रेफ्रीमा भने कतारका अब्दुलरहमान अल जसीमले जिम्मेवारी पाएका छन् ।
उनले विश्वकपको समूह चरणमा अमेरिका र वेल्सको खेलमा रेफ्री गरेका थिए । उनले २०१९ मा लिभरपुल र फ्लेमेंगोबीचको फिफा क्लब विश्वकपको फाइनलमा रेफ्रीको भूमिका निर्वाह गरेका थिए ।