काठमाडौं । साविक विजेता फ्रान्स कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
बुधबार राति भएको दोस्रो सेमिफाइनलमा मोरक्कोलाई २-० गोल अन्तरले हराउँदै फ्रान्स उपाधि नजिक पुगेको हो ।
फ्रान्स लगातार दोस्रो पटक विश्वकपको फाइनलमा पुगेको हो ।
अब फ्रान्सले उपाधिका लागि आइतबार अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ । मोरक्कोले तेस्रो स्थानका लागि शनिबार क्रोएसियासँग खेल्नेछ ।
अर्जेन्टिना पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३-० ले हराएर उपाधि नजिक प्रवेश गरिसकेको छ ।
अल बायत स्टेडियममा फ्रान्सलाई जित दिलाउन थियो हर्नान्डेज र राण्डल कोलो मुवानीले एक एक गोल गरे ।
बल पोसेसनमा पकड जमाएको मोरक्कोविरुद्ध फ्रान्सले दुबै हाफमा एक एक गोल गरेको थियो ।
खेलको पाँचौं मिनेटमा हर्नान्डेजले गोल गर्दै फ्रान्सलाई सुरुआती अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ७९ औं मिनेटमा सब्सिच्युड खेलाडीको रुपमा मैदान प्रवेश गरेका मुवानीले गोल गर्दै फ्रान्सलाई २-० को जित दिलाए ।
उनी ७९ औं मिनेटमै ओसुमाने डेम्बेलेको स्थानमा मैदान प्रवेश गरेका थिए । उनको यो पहिलो अन्तराष्ट्रिय गोल हो ।
यस अघि फ्रान्सले क्वाटरफाइनलमा इंग्ल्यान्डलाई हराएर मोरक्कोसँगको भेट पक्का गरेको थियो ।
मोरक्कोले पोर्चुगललाई हराएर पहिलो पटक सेमिफाइनलमा स्थान बनाएको थियो ।