काठमाडौं । नेपाल आर्मीका प्रेम चौधरी र दिपक श्रेष्ठ ओलम्पिक डे को उपलक्ष्यमा आयोजित बक्सिङ च्याम्पियनसिपमा स्वर्ण हात पारेका छन् ।
शुक्रवार लगनखेल स्थित आर्मी कभर्डहलमा भएको पुरुष ५२ केजी तौल समूहमा प्रेमले आर्मीकै सुदिप श्रेष्ठलाई हराउदै पहिलो स्थान हात पारे । त्यस्तै पुरुष ७५ केजी तौल समूहमा दिपकले आर्मीकै नवराज श्रेष्ठलाई हराउदै पहिलो स्थान पक्का गरे । पुरुष ६०केजी तौल समुहमा आर्मीका यज्ञवहादुर घलेले काठमाण्डौका जेनिस राईलाई हराउदै पहिलो भए ।
पुरुष ६० केजी तौल आर्मीका समूहमा दानवहादुर दर्लार्मीले काठमाण्डौंका सनिल शाहीलाई तथा ४९ केजी तौल समूहमा आर्मीका सुभाष तामाङले काठमाण्डौका तेज पुन मगरलाई हराउदै पहिलो स्थान हात पारे । महिलातर्फको एक मात्र खेलमा एपीएफकी संगिता सुनारले बाँजी मारिन् । उनले ६० केजी तौल समूहमा आर्मीकी पुनम रावललाई हराएकी थिईन् ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार बिष्टले बिजेता खेलाडीलाई नगद सहित पुरस्कृत गरे । सो अवसरमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य अर्जुनवहादुर केसी,नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले,बक्सिङका अग्रज सुरेश सिंह आले,बक्सिङका पुर्व अध्यक्ष ओलम्पियन उमेश मास्के,समाज सेवी पवन अग्रवाललगायतको उपस्थिति रहेको थियो ।