काठमाडौं । मन जयकर टेनिस एकेडेमीको आयोजनामा २० औं जयकर स्मृति एटीएफ यु–१४ टेनिस प्रतियोगितामा नेपालसहित १४ राष्ट्रको सहभागिता रहने भएको छ ।
प्रतियोगिता सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा सोमबारदेखि सुरु हुँदैछ । प्रतियोगिता २ सर्किटमा हुनेछ । पहिलो सर्किट सोमबारदेखि हुन लागेको हो ।
एकेडेमीको यो पहिलो जुनियर अन्तर्राष्ट्रिय प्रतियोगिता हो । एकेडेमीले विगतका १९ संस्करण जुनियर राष्ट्रिय प्रतियोगिता आयोजना गरेको थियो ।
प्रतियोगितामा नेपाल, भारत, बंगलादेश, माल्दिभ्स, श्रीलंका, पाकिस्तान, क्यानाडा, यमन, ओमन, अमेरिका, वेल्जियम, दक्षिण कोरिया, हङकङ र इरानको सहभागिता रहने प्रतियोगिता निर्देशक मालिका राणा बस्नेतले जनाएकी छन् । दुवै सर्किटमा १४ राष्ट्रबाट ५० ब्वाइज र ४४ गल्र्स खेलाडी सहभागी हुने छन् ।
सिंगल्समा शीर्ष ३१ स्थानमा रहने खेलाडीले बढीमा २ सय र कम्तीमा १ अंक प्राप्त गर्ने छन् । डबल्समा खलाडीले सिंगल्समा प्राप्त गरेको जम्मा अंकको २५ प्रतिशत अंक मात्र पाउने छन् । आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब ११ लाख रुपैयाँ खर्च हुनेछ ।