काठमाडौं । दक्षिण कोरिया र युएई यू–१८ एसियाली रग्बी सेभेन्स च्याम्पियनसिपमा आइतबार च्याम्पियन बनेका छन् ।
दक्षिण कोरिया पुरुष तथा महिलामा युएई च्याम्पियन बनेका हुन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पुरुष फाइनलमा दक्षिण कोरियाले युएईलाई २१–१७ स्कोरले पराजित गर्यो ।
त्यसअघि आइतबारै भएको सेमिफाइनलमा दक्षिण कोरियाले मलेसियालाई १९–७ तथा युएईले भारतलाई ३६–० ले हराउदै उपाधि भिडन्त पक्का गरेका थिए ।
एसिया रग्बीको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा भएको प्रतियोगितामा मलेसिया तेश्रो भयो । मलेसियाले भारतलाई ३६–६ ले पाखा लगायो ।
पुरुषकै प्लेटतर्फ चाइनिज ताइपेइले थाइल्यान्डलाई १९–० ले पन्छ्याउदै पहिलो भयो । ताइपेइले नेपाललाई ३४–७ तथा थाइल्यान्डले बंगलादेशलाई ५३–० ले पराजित गर्दै प्लेटतर्फ फाइनल खेलेका हुन् ।
आठ राष्ट्र सहभागी प्रतियोगितामा नेपाल सातौं स्थानमा रह्यो । सातौं स्थानका लागि भएको खेलमा नेपालले बंगलादेशमाथि ६९–० को सहज जित दर्ता गर्यो ।
महिलाको उपाधि भिडन्तमा युएइले भारतको चुनौती २६–५ ले समाप्त पा¥यो । मलेसियाले थाइल्यान्डलाई १९–७ ले हराउदै तेश्रो भयो । महिलामा नेपालसहित ५ राष्ट्र सहभागी थिए ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, एसिया रग्बीका अध्यक्ष काइस अल धलाइ, नेपाल रग्बी संघका कार्यवाहक अध्यक्ष दिपक देवकोटालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । नेपालमा पहिलोपटक रग्बीको अन्तर्राष्ट्रिय भएको हो ।