काठमाडौं । एसिया रग्बी यू–१८ सेभेन्स च्याम्पियनसिपमा नेपाली पुरुष टोलीले भारतमाथि जित हात पारेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पहिलो दिनको आफ्नो अन्तिम खेलमा शनिबार नेपालले भारतलाई हराएको हो । नेपालले भारतलाई १२–१० ले हराएको छ ।
पहिलो खेलमा थाइल्याण्डसँग १५–७ ले पराजित भएको नेपाली टोली दोश्रो खेलमा मलेसियासँग ३४–० ले पराजित भएको थियो । पहिलो खेलमा मलेसियासँग १४–५ ले पराजित भएको भारतले दोश्रो खेलमा थाइल्याण्डलाई २९–० ले हराएको थियो ।
महिलातर्फ नेपालले हारबाट नै प्रतियोगिताको शुरुवात गरेको छ । महिलातर्फको पहिलो खेलमा नेपाल थाइल्याण्डसँग ३९–० ले पराजित भएको छ । दोश्रो खेलमा युएईसंग नेपाली महिला टोली ४१–० ले पराजित भएको थियो ।
अन्य खेलमा चाइनिज ताइपेई पुरुष टोलीले बंगलादेशलाई ७०–० ले हराएको छ । युएई पुरुष टोलीले दक्षिण कोरियालाई २४–७ ले हराएको छ । भारत महिला टोलीले मलेसिया माथि ५८–० को जित निकालेको छ । युएई पुरुष टोलीले बंगलादेश माथि ८१–० को जित निकालेको छ । दक्षिण कोरिया पुरुष टोलीले चाइनिज ताईपेईलाई १७–१२ ले हराएको छ । मलेसिया पुरुष टोलीले थाइल्यान्डलाई १७–० ले हराएको छ । चाइनिज ताईपेई पुरुष टोलीले युएईलाई ३२–५ ले हराएको छ । आजको अन्तिम खेलमा दक्षिण कोरिया पुरुष टोलीले बंगलादेशलाई ८०–० ले हराएको छ ।
आइतबार थाइल्यान्ड पुरुष टोली र बंगलादेश, नेपाल र चाइनिज ताईपेई पुरुष टोली, मलेसिया र कोरिया पुरुष टोली तथा भारत र युएई पुरुष टोली विच खेल हुनेछ ।
पुरुषतर्फ नेपाल रहेको पुल ‘ए’ मा थाइल्याण्ड, मलेसिया र भारत छन् । यस्तै पुल ‘बी’ मा दक्षिण कोरिया, बंगलादेश, यूएई र मलेसिया छन् । पुरुषतर्फ दुवै पुलका शीर्ष दुई सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनलका विजेताबीच फाइनल हुनेछ ।
महिलातर्फ नेपाल, भारत, यूएई, थाइल्याण्ड र मलेसियाबीच राउण्ड रोविनका आधारमा प्रतिस्पर्धा हुनेछ । शीर्ष दुई टिमले फाइनल खेल्नेछन् । आजबाट शुरु भएको प्रतियोगितामा पुरुषमा ८ तथा महिलामा ५ टिम सहभागी छन् ।