काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले पुस ७ गते आसन्न लिगको तयारी खर्च लैजान ए डिभिजनका क्लबलाई जानकारी गराएको छ । महासचिव किरण राईले ए डिभिजनका १४ क्लबलाई पत्र लेख्दै पुस ७ गतेभित्र टिम दर्ता गर्न र पहिलो किस्ता वापतको तयारी खर्च लैजान भनेका छन् ।
समयमै तयारी खर्च उपलब्ध नगराएको भन्दै क्लबहरुले असन्तुष्टि जनाउँदै ए डिभिजनका १४ क्लबले एन्फासँग गम्भिर असन्तुष्टि जनाएका थिए । मंसिर १५ गतेभित्र पहिलो किस्ता वापतको तयारी खर्च नपाएको भन्दै पुस २६ गतेको पूर्व निर्धारित लिग खेल्न नसक्ने जानकारी एन्फालाई गराएका थिए ।
एन्फा र क्लबबीचको बढ्दो तनावका कारण आसन्न ए डिभिजन लिग अन्यौलमा परेको थियो । लिगनै नहुने अवस्था सिर्जना हुन थालेपछि फुटबल खेलाडी संघले एन्फासँग भेट गरि यथासिघ्र घरेलु फुटबल सुचारु गर्ने वातावरण बनाउन नेतृत्वको ध्यानाकर्षण गराउँदै ज्ञापन पत्र बुझाएका थिए ।
खेलाडी संघ र क्लबहरुको ध्यानाकर्षणपछि दबाबमा आएको एन्फाले लिग सञ्चालनको स्रोत ब्यवस्थापनका लागि राखेर र एनएसएलको आयोजक टिमसँग संवाद अघि बढाएको थियो । शुक्रबार मात्र एन्फाले क्लबलाई पत्र लेख्दै पुस १ देखि ७ गतेसम्म टिम दर्ता गर्न र संघसँग सम्झौता गरी पहिलो किस्ता वापतको १५ लाख रुपैयाँ लैजान भनेको हो ।
एन्फाले क्लबलाई तयारी स्वरुप दिने साढे ३२ लाख रुपैयाँमा पहिलो किस्ताको १५ लाख, दोस्रोको १० लाख र तेस्रो किस्ता वापतको साढे ७ लाख रुपैयाँ उपलब्ध गराउन आफु प्रतिबद्ध रहेको समेत बताएको छ ।
एन्फाले आसन्न लिग डबल राउण्ड रोबिनमा हुने निर्णयमा कुनै आशंका नरहेको भन्दै टिम सहित खेलाडी दर्ता र अन्य प्रक्रियामा लाग्न सम्पुर्ण क्लबमा अनुरोध गरेको छ ।
लिग अनिश्चित बनेपछि खेलाडीले एन्फा र क्लबमाथि दबाब सिर्जना गरेका थिए । खेलाडी संघ आफै सक्रिय बनेर एन्फा र क्लबका पदाधिकारीसँग घरेलु फुटबल सुचारु गराउने सन्दर्भमा छलफलमा जुटेको थियो । लामो समयदेखि घरेलु फुटबल अबरुद्ध हुँदा धेरै खेलाडी विदेश पलायन बनेका छन् । देशमै रहेका अधिकांश फुटबल खेलाडी लिगको मिति पर्खिएर बसेका छन् ।
एन्फाको पछिल्लो पत्रले पुस २६ गतेनै लिग हुने विषयमा ‘ब्रेक थ्रु’ गरेको छ । एन्फाको मौनताले केही समय अघिसम्म घरेलु फुटबल चल्न नसक्ने आशंका प्रकट भएका थिए ।