काठमाडौं । अखिल नेपाल फुटबल खेलाडी संघले घरेलु फुटबल यथासिघ्र सञ्चालन गर्ने वातावरण बनाउन एन्फाको ध्यानाकर्षण गराएको छ ।
संघका पदाधिकारीले बुधबार एन्फा अध्यक्ष पंकजबिक्रम नेम्वाङलाई भेट गरि घरेलु लिग सञ्चालनको वातावरण सिर्जना गर्न अनुरोध गरेका हुन् ।
संघले पुस २६ गतेबाट हुने भनिएको लिग सञ्चालनमा क्लब र एन्फाबीच असमझदारी उत्पन्न भएको विषयमा आफ्नो गम्भिर ध्यानाकर्षण भएको उल्लेख गर्दै देशको फुटबललाई गम्भिर असर पर्ने विषयको आपसी असमझदारीलाई छलफलबाट सुल्झाउन अनुरोध गरेको छ ।
खेलाडी संघका अध्यक्ष बिक्रम लामाको नेतृत्वमा एन्फा मुख्यालय पुगेको खेलाडी संघको टोलीले घरेलु फुटबलको नयाँ सिजन निर्धारित समयमै सुरु गर्न नेतृत्वसँग अनुरोध गरेको हो ।
लिगको तयारी खर्च समयमा उपलब्ध नगराएपछि एन्फा र क्लबबीच असमझदारी उत्पन्न भएको छ । मंसिर १५ गतेभित्र पाउनुपर्ने लिगको तयारी खर्च नपाएपछि क्लबहरुले निर्धारित समयमा लिग खेल्न नसकिने आशयको ध्यानाकर्षण पत्र एन्फामा बुझाएका छन् ।
एन्फा र क्लबबीच देखिएको पछिल्लो असमझदारीले पुस २६ गतेबाट हुने भनिएको लिग फुटबलमा अन्यौलता देखिएको छ ।