काठमाडौं । नेपालगन्ज म्याराथनसँग सिद्धार्थ बैंकले अफिसियल बैंकिङ पार्टनरका रुपमा साझेदारी गरेको छ ।
मंसिर २४ गते शनिबार आयोजना हुने आठौं संस्करणको म्याराथनसँग बैंकिङ पार्टनरको रुपमा बैंक जोडिएको हो ।
बैंकका उपप्रदेश कार्यालय हेड उपेन्द्र प्रकाश गड्तौला र क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टका सिओओ सौगातविक्रम शाहले आइतवार सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौतापछि नेपालगन्ज म्याराथनसम्बन्धी सम्पुर्ण कारोबार सिद्धार्थ बैंकबाट गरिनेछ ।
गौतम बुद्धको जन्मथलो लुम्बिनीकै परिचयका रुपमा स्थापित नेपालगन्ज म्याराथनसँग सहकार्य गर्न पाउँदा खुशी लागेको उपप्रदेश प्रमुख गड्तौलाले बताए । क्रियटिभ गन्जका सिओओ शाहले सिद्धार्थ बैंकसँगको सहकार्यले अन्य नीजि क्षेत्रलाई पनि प्रोत्साहित गर्ने धारणा राखे ।
विश्व म्याराथनको नियमनकारी निकाय एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेश(एम्स)बाट रुट प्रमाणीकरण तथा पुर्णकालीन सदस्यता प्राप्तिपछि हुन लागको आठौं संस्करणमा विदेशी धावकको समेत सहभागिता रहनेछ ।
यसपटक दुई दिने कार्यक्रम गरी नेपालगन्ज म्याराथन आयोजना गरिंदैछ । पहिलो दिन शुक्रवार दिउँसोदेखि रातिसम्म उपमहानगरपालिका परिसरमा बिभिन्न बिषयमा मन्थनका साथै स्वादको सहरका रुपमा चिनाउने कार्यक्रम समेत हुनेछ । साथै कवि गोष्ठी र मुसायरा पनि हुनेछ । शनिवार बिहान म्याराथन आरम्भ हुनेछ ।
हरेक वर्ष मंसिरको पहिलो शनिबार आयोजना हुँदै आएको नेपालगन्ज म्याराथन आमनिर्वाचनका कारण तीन साता पछाडि सारिएको हो ।
नेपाल सरकार र विद्रोही माओवादीबीच बृहत शान्ति सम्झौता भएको दिन मंसिर ५ गतेलाई स्मरण गर्दै हरेक मंसिरको पहिलो शनिबार यस म्याराथन हुँदै आएको छ ।
यस वर्ष नेपालगन्ज म्याराथनमा ४२.१९५ किमी, २१ किमी, १० किमी र ५ किमी गरी चार रेशलाई एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेश(एम्स)ले प्रमाणीकरण गरेको छ ।
यस वर्ष पनि बिभिन्न ११ वटा विधामा स्पर्धा समावेश गरिनेछ । कर्पोरेटतर्फ महिला यसबर्ष थप गरिएको हो । पुरुषतर्फ म्याराथन(४२.१९५किमी), महिलातर्फ हाफ म्याराथन(२१किमी), १० किमी पुरुष खुल्ला, ५ किमी महिला खुल्ला, ५ किमी स्कुलस्तरीय छात्र, ३ किमी स्कुल स्तरीय छात्रा, किड्स रन(८देखि १२ बर्ष उमेरसमुह), २ किमी कर्पोरेट रन पुरुष तथा महिला, एक किमी ट्राइसाइकल र वाकाथन समावेश गरिएको छ । स्कुलस्तरीय दौड भने बाँके जिल्ला स्तरीय मात्र हुनेछ ।