काठमाडौं । पोर्चुगलले कतारमा जारी फिफा विश्वकप फुटबलको राउण्ड अफ १६ मा स्थान बनाएको छ ।
लुसाईल स्टेडियममा सोमबार राति भएको खेलमा उरुग्वेलाई २-० गोल अन्तरले हराउँदै पोर्चुगल नकआउट चरणमा पुगेको हो ।
कतार विश्वकपको नकआउट चरणमा पुग्ने पोर्चुगल तेस्रो टोली हो ।
पोर्चुगललाई जित दिलाउन दुबै गोल ब्रुनो फर्नान्डेसले गरे ।
खेलको ५४ औं मिनेटमा ब्रुनोले गोल गर्दै पोर्चुगललाई सुरुआती अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको इन्जुरी समयमा ब्रुनोले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दै पोर्चुगललाई २-० को जित दिलाए ।
उरुग्वेका जोसे जिमिनेजले पेनाल्टी क्षेत्रमा ह्यान्डबल गरेपछि भीएआरमा पोर्चुगलले पेनाल्टीको अवसर पाएको थियो । जसमा ब्रुनोले सहजै गोल गरे ।
यस जितसँगै पोर्चुगलले समूह 'एच' बाट लगातार दुई खेल जित्दै नकआउट चरणमा स्थान पक्का गरेको हो ।
पोर्चुगलले २ खेलमा ६ अंक जोडेको छ ।
पोर्चुगल शीर्ष स्थानमा रहेको छ ।
उरुग्वे १ अंक जोडेर पुछारमा रहेको छ ।
यस हारसँगै उरुग्वेको नकआउट चरण पुग्ने सम्भावना कमजोर बनेको छ ।