काठमाडौं । दोस्रो संस्करणको वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता अन्तर्गत यू-१४ तर्फको उपाधि सुनीरा थापा र आयुष्मान हजुर घलेले उपाधि जितेका छन् ।
सातदोबाटोस्थित टेनिस कोर्टमा मंगलबार गर्ल्सतर्फ सुनीरा र ब्वाइजमा आयुष्मान पहिलो भएका हुन् । सुनीराले फाइनलमा शिभाली गुरुङलाई ६-४ र ६-२ ले हराईन् । आयुष्मानले बोरिस अधिकारीलाई ६-१ र ६-१ ले पाखा लगाए ।
यू-८ ब्वाइजको उपाधि आर्यश राज पौडेलले जिते । उनले फाइनलमा सभ्य जंग कार्कीलाई १०-५ र १०-३ ले हराए ।
यू-९ ब्वाइजमा पनि आर्याशले उपाधि जिते । उनले फाइनलमा सुजन कुइकेललाई ४-० र ४-२ ले हराए ।
यू-९ गर्ल्सको उपाधि अनुश्री धोजुले जितिन् । फाइनलमा अनुश्रीले जेनिशा ज्ञवालीलाई ४-३,३-५ र ५-४ ले हराईन ।
ब्वाइज यू-१२ को उपाधि बृजेश अर्यालले जिते । उनले फाइनलमा असभ सम्राट हाडालाई ६-१ र ६-१ ले हराए ।
पुरुष ४५ वर्षमाथि डबल्सको उपाधि डिगेन्द्र श्रेष्ठ र चन्द्र शाहीको जोडीले हात पारे । श्रेष्ठ र शाहीको जोडीले फाइनलमा सुदर्शन विष्ट र राजु क्षेत्रीको जोडीलाई ७-५ र ६-४ ले हराए ।
५५ वर्षमाथि पुरुष डबल्सको उपाधि कृष्ण घले र सुवर्ण धखवाको जोडीले हात पारे । उनीहरुले फाइनलमा निरन्जन श्रेष्ठ र राम रानाको जोडीलाई ६-१ र ६-३ ले हराए ।
प्रतियोगिता अन्तर्गत नै पुरुष सिंगलमा बिष्णु नेपाली, सौगात बिक, सौरभ नाथ पन्थ, राज विर प्रधान, प्रितम परियार, आशिष खड्का, गोविन्द नेपाली, सुशल मोक्तान र आयुष्मान हजुर घलेले प्रि-क्वाटरफाइनलमा स्थान बनाएका छन् ।
३५ वर्षमाथिको पुरुष एकलमा सन्तोष खत्री, भिष्म जंग गुरुङ, जितेन्द्र परियार, कमल भण्डारी, सिमान्त गुरुङ, सुरज लोहनी, प्रवेश पन्त र कृष्ण थापाले क्वाटरफाइनलमा स्थान पक्का गरेका छन् ।
४५ वर्षमाथि पुरुष सिंगलमा महेश श्रेष्ठ, शिव प्रसाद सेढाई, उत्तम बोगटी, मनोज बिक्रम शाह, अमित रोक्का र रोहित सुनुवारले क्वाटरफाइनलमा स्थान पक्का गरेका छन् ।
वीर गणेशमान सिंह स्पोर्ट्स कमिटिको आयोजनामा जारी प्रतियोगितामा विभिन्न २३ इभेन्ट्समा प्रतिस्पर्धा भईरहेको छ।