काठमाडौं । असार दोस्रो साताबाट सुरु प्रथम प्रकाश दाहाल स्मृति पुरुष तथा महिला राष्ट्रिय खुल्ला बक्सिङ प्रतियोगिताको सम्पूरण तयारी पुरा भएको छ । आयोजक अखिल नेपाल खेलकुद संघले बिहिबार पत्रकार सम्मेलन गर्दै असार १३ देखि १८ गतेसम्म चल्ने प्रतियोगिताको तयारी पुरा भएको जानकारी गराएको हो ।
नेपाल बक्सिङ संघको तत्वावधानमा आयोजनामा हुने प्रतियोगिता लैनचौरस्थित टेबलटेनिस कभर्डहलमा हुने आयोजक समितिका संयोजक पवन अग्रवालले जानकारी गराए । प्रतियोगितामा पुरुषतर्फ ९ तथा महिलामा ८ केजी तौलसमूहमा प्रतिस्पर्धा हुनेछ । जसमा १७ स्वर्ण, १७ रजत र ३४ कास्य पदकका लागि खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
पुरुषतर्फ ५२ केजी, ५६ केजी, ६० केजी, ६४ केजी, ६९ केजी, ७५ केजी, ८१ केजी, ९१ केजी र ९१ केजी माथिको तौल समूहमा स्पर्धामा प्रतिस्पर्धा हुने छ । महिलातर्फ ४८ केजी, ५१ केजी, ५४ केजी, ५७ केजी, ६० केजी, ६४ केजी, ६९ केजी र ७५ केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको सम्पूर्ण तौल समूहको विजेतालाई नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । प्रतियोगिता पुरस्कार राशीबारे छलफल जारी रहेको र तत्काल घोषणा नगरिएको आयोजक समितिका संयोजक अग्रवालले जानकारी गराए ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको स्मृतिमा संघले पहिलो संस्करणको प्रतियोगिता आयोजना गर्न लागेको राखेप सदस्य तथा बक्सिङ संघका वरिष्ठ उपाध्यक्ष अर्जुन बहादुर केसीले जानकारी गराए । प्रकास दाहालको गत मंसिरमा निधन भएको थियो ।