पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको ५ हजार मिटर महिला दौडमा बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले स्वर्ण पदक जितेकी छिन् ।
पोखरा रंगशालामा बुधबार नेपाल पुलिस क्लबकी राजपुरा पछाईलाई पछि पार्दै सन्तोषीले स्वर्ण जितेकी हुन् ।
सन्तोषीले निर्धारित दुरी १७ मिनेट ०५.२९ सेकेन्डमा पूरा गरिन् ।
स्वर्ण जितेपछि सन्तोषीले राष्ट्रिय कीर्तिमानको लक्ष्य राखेको भएपनि चोटको कारण पूरा गर्न नसकेको बताईन् ।
महिला ५ हजार मिटरमा कान्छीमाया कोजुको नाममा १६ मिनेट ४९.५९ सेकेन्डको रहेको छ ।
सन्तोषीले १० हजार मिटरमा समेत स्वर्ण जितेकी थिइन् ।
रजत जितेकी राजपुराले १७ मिनेट १२.०५ सेकेन्डमा दौड पूरा गरिन् ।
आर्मी क्लबकी पुर्णलक्ष्मी न्यौपानेले १८ मिनेट ०३.०० सेकेन्डको समय निकाल्दै कास्य जितिन् ।