पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको ४ सय मिटर दौडमा आर्मीका सोम बहादुर कुमाल र एपीएफकी रमिता कुमारी थारुले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेका छन् ।
पोखरा रंगशालामा पुरुषतर्फ सोमले निर्धारित दुरी ४७.९५ सेकेन्डमा पूरा गर्दै राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेका हुन् । सोमले यसअघि आफ्नै नाममा रहेको ४८.२० सेकेन्डको ह्यान्ड टाइमको कीर्तिमान सुधार गरेका हुन् ।
एपीएफका आशिष चौधरीले ४९.४० सेकेन्डमा पूरा गर्दै रजत जित्दा आर्मीका प्रकास दनुवारले ४९.९० सेकेन्डको समय निकाल्दै कास्य हात पारे ।
महिलातर्फ रमिताले ह्यान्ड टाइममा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जित्ने क्रममा निर्धारित दुरी ५८.१० सेकेन्डमा पूरा गरिन् ।
रमिताको राष्ट्रिय खेलकुदमा पहिलो स्वर्ण हो ।
रमिताले तुलसा खत्रीको नाममा रहेको ५९.५८ सेकेन्डको ह्यान्ड टाइमको कीर्तिमान तोडेका हुन् ।
महिलातर्फ आर्मीकी निर्मला थापाले १ मिनेट ००.१४ सेकेन्डमा पूरा गर्दै रजत जितिन् ।
कास्य जितेकी एपीएफकी कल्पना श्रेष्ठले १.००.७० सेकेन्डमा दौड पूरा गरिन् ।