काठमाडौं । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको पुरुष १० हजार मिटरमा आर्मीका दीपक अधिकारीले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेका छन् ।
पोखरा रंगशालामा आईतबार भएको दौडमा दीपकले ३० मिनेट १० दशमलव ३० सेकेन्डमा निर्धारित दुरी पार गर्दै स्वर्ण जितेका हुन् ।
दीपकले एपीएफ क्लबका गोपीचन्द्र पार्कीको कीर्तिमानलाई तोड्दै नयाँ कीर्तिमान कायम गरेका हुन् ।
यस अघि गोपीको नाममा ३० मिनेट ३० दशमलब ९९ सेकेन्डको कीर्तिमान थियो ।
सोही स्पर्धामा गोपीचन्द पार्कीले रजत पदकमा चित्त बुझाए । उनले निर्धारित दुरी ३० मिनेट ३८ दशमलव ३० सेकेन्डमा पूरा गरे ।
तेस्रो आर्मीकै गजेन्द्र राई भए । उनले निर्धारित दुरी ३० मिनेट ४९ दशमलव ५० सेकेन्डमा पूरा गरेका थिए ।
१० हजार मिटरको महिला स्पर्धा शनिबार भएको छ । सो स्पर्धामा बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले स्वर्ण पदक हात पारेकी थिईन् ।
आईतबार एथलेटिक्सको ६ स्पर्धाको फाइनल खेल हुनेछ ।
१० हजार मिटर पुरुष सहित ४ सय मिटर महिला, पुरुषको हडल्स, २ सय मिटरको पुरुष र महिला स्पर्धाको फाइनल, ८ सय मिटर पुरुष र महिलाको फाइनल र हाइजम्पमा महिला र पुरुषको फाइनल हुनेछ ।
यस्तै, ४ सय वाइ एक सय मिटरको पुरुष र महिलाको रिलेको फाइनल समेत आजै हुनेछ ।