पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत टेनिसको टिम इभेन्ट्समा गण्डकी प्रदेश फाइनलमा प्रवेश गरेको छ ।
नेपालको शीर्ष वरियताका टेनिस खेलाडी प्रदीप खड्काको टोली आयोजक गण्डकी र विभागीय नेपाली सेनाको आर्मीले पुरुषतर्फ फाइनलमा स्थान बनाएका छन् ।
यसैगरी महिलातर्फ नेपाली सेना र सशस्त्र प्रहरीको एपीएफले फाइनलमा स्थान बनाउन सफल भए ।
पोखरा रंगशालाको टेनिस कोर्टमा भएको खेलमा टिम इभेन्टको पुरुष सिँगल विधामा गण्डकीका खड्काले सशस्त्रका सन्तोष खत्रीलाई ६–३,६–३ सेटमा पराजित गर्नुभयो । यसैगरी गण्डकीका अनिल शाही र सशस्त्रका आयुस्मान घलेबीचको खेलमा ६–१,६–० सेटमा शाही विजयी भए ।
पुरुष डबल्सतर्फको प्रतिस्पर्धामा गण्डकीका आशिष कुमार र सौगात विकेको जोडीले एपिएफका निश्चल श्रीयोगको जोडीमाथि ४–१,४–२ सेटको जित निकालेपछि गण्डकीले फाइनलमा स्थान बनाउन सफल भयो ।
यसैगरी पुरुष सिंगलको अर्को खेलमा पुलिसका आर्यन गरीले आर्मीका अकी रावतलाई ६–२,६–४ को सेटमा पराजित गरे । आर्मीका प्रनभ खनाल र पुलिसका प्रनभ मानन्धरबीचको खेल ६–३,६–१ को सेटमा खनाल विजयी भए । पुरुष डबल्सतर्फ आर्मीका प्रनभ र एकीको जोडीले पुलिसका आर्यन र प्रनभको जोडीलाई ६–२,७–६ को सटमा पराजित गरेपछि आर्मीले फाइनलमा स्थान पक्का गरेको हो ।
टिम इभेन्टको महिला एकलतर्फको प्रतिस्पर्धामा आर्मीका इरा रावत र अभिलासा विष्ट विजयी भए । उनीहरुले क्रमशः पुलिका प्रशंसा मोक्तान र पुलिसका इसा डोल्लकर गुरुङलाई पराजित गरे ।
महिला डबल्सतर्फ पुलिसका आइसा र प्रशंसाको जोडीले आर्मीका इसा श्री र सुभांगीको जोडीलाई पराजित गरे । महिला एकलतर्फ एपिएफका सुनिरा थापा र सर्भानी श्रेष्ठ विजयी भए । डबल्सतर्फ सर्भानी र डिब्नाको जोडीले बागमतीका प्रकृति र रायानाको जोडीलाई पराजित गरेपछि एपिएफ टिम इभेन्टको फाइनलमा प्रवेश गर्न सफल भए ।
यसैगरी व्यक्तिगत इभेन्टको पुरुष एकलतर्फ मधेश प्रदेशका राजविर प्रधानले एनआएरएनएका कृष्ण थापालाई पराजित गरी प्रिक्वाटर फाइनलमा प्रवेश गरेका छन् ।
पुरुष डबल्सतर्फ एनआरएनएको आरभ र डावाको जोडी, पुलिसका प्रनभ र आर्यनको जोडी, गण्डकीका आशिष र सौगात तथा लुम्बिनीका रितिक र सक्षमको जोडी क्वाटर फाइनलमा प्रवेश गर्न सफल भए ।
यसैगरी महिला डबल्सतर्फ एपिएफका सुनि र सर्भानीको जोडी तथा बागमतीका प्रकृति र रायानाको जोडी अन्तिम चारमा पुगेका छन् ।
मिक्स डबल्सतर्फ गण्डकीका सौगात विके र श्रीया भट्टराईको जोडी र बागमतीका रोजन र अजयको जोडी क्वाटर फाइनलमा प्रवेश गरेको नेपाल टेनिस संघका कार्यालय प्रमुख प्रविन देवकोटाले जानकारी दिए ।