पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको १०० मिटर महिला दौडमा त्रिभुवन आर्मी क्लबकी सरस्वती चौधरीले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी छिन् ।
पोखरा रंगशालामा शनिबार भएको खेलमा सरस्वतीले १२.१३ सेकेन्डको राष्ट्रिय कीर्तिमानी समय निकाल्दै स्वर्ण जितेकी हुन् ।
सरस्वतीले लुम्बिनीकी निशा चौधरीले हिट चरणमा बनाएको कीर्तिमान भंग गरेकी हुन् । निशाले १२.१५ सेकेन्डको समय निकालेकी थिइन् ।
यस अघि यस स्पर्धामा देबीमाया पनेरुको नाममा १२.१९ सेकेन्डको इलेक्ट्रोनिक टाइमको राष्ट्रिय कीर्तिमान रहेको थियो ।
यस स्पर्धामा निशाले १२.२२ सेकेन्डको समय निकाल्दै रजत जित्दा आर्मीकी रमिता थारुले १२.९२ सेकेन्डको समय निकाल्दै कास्य पदक जितिन् ।