पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला ह्याण्डबल खेलमा विभागीय आर्मीले लगातार तेस्रो जित निकालेको छ । आर्मीले बुधबार प्रदेश–१ माथि ३४–९ को जित निकाल्यो।
लगातार तेस्रो खेल जितेको आर्मीले महत्वपूर्ण ९ अंक बटुलेको छ। आर्मीका लागि सञ्चिता बस्नेतले सर्वाधिक ९ गोल गरिन्।
बुधबारनै भएको खेलमा बागमतीले मधेश प्रदेशलाई ६–४ गोलले जित निकालेको हो। जितसँगै बागमतीले महत्वपूर्ण ३ अंक बटुलेको छ । मधेशकी सुजाता सिंहले सर्वाधिक ४ गोल गरिन्।
अर्को खेलमा लुम्बिनीले सदूरपश्चिममाथि १४–१० ले जित निकाल्यो। जितसँगै लुम्बिनीले ३ अंक बटुलेको छ। लुम्बिनीकी अर्चना न्यौपानेले सर्वाधि १४ गोल गरिन् ।
पुरुष स्पर्धामा गण्डकी र आर्मीले लगातार तेस्रो जित दर्ता गरे । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा गण्डकीले बागमतीलाई ३२–१४ गोलले हरायो । लगातार ३ खेल जितेको गण्डकीले योसँगै ९ अंक बटुलेको छ । गण्डकीका विशाल बस्नेतले सर्वाधिक ६ गोल गरे।
यस्तै आर्मीले आफ्नो तेस्रो खेलमा प्रदेश–१ माथि ५४–१० ले जित निकालेको हो। लगातार तेस्रो जित निकालेको आर्मीले ९ अंक जोडेको छ। आर्मीका लागि निर्मलबाबु श्रेष्ठले सर्वाधिक १३ गोल गरे।
अन्य खेलमा एपीएपले बुधबार प्रदेश–१ माथि ३५–५ ले जितेको छ भने लुम्बिनीले सुदूरपश्चिममाथि ३०–२५ र कर्णालीले बागमतीमाथि १८–१७ गोल अन्तरको जित निकालेको छ ।