काठमाडौं । खेलपाटी डटकमको प्रधान सम्पादकमा रोशन राउत नियुक्त भएका छन् । कखरा पब्लिकेसन प्रालिले मंगलबार राउतलाई खेलपाटी डटकमको प्रधान सम्पादक नियुक्त गरिएको जनाएको छ ।
प्रधान सम्पादक राउत बिगत ३० वर्षबाट मूलधारको पत्रकारितामा आबद्ध छन्। राउत पछिल्लो समय राष्ट्रिय दैनिक सौर्य दैनिकमा समाचार सम्पादकको रुपमा कार्यरत रहेका छन् । त्यसअघि राउतले २० वर्ष राष्ट्रिय दैनिक अन्नपूर्ण पोस्टमा विभिन्न पोस्टमा रहेर काम गरेका थिए ।
खेलपाटीको केन्द्रिय कार्यालयमा राउतलाई स्वागत गर्दै पब्लिकेशनका निर्देशक कृष्ण कँडेलले प्रधान सम्पादकको आगमनसँगै संस्थाले नयाँ उचाई चुम्ने विश्वास व्यक्त गरे । निर्देशक कँडेलले राउतको तीन दशकको पत्रकारिताको अनुभवबाट खेलपाटीले थप सफलता हासिल गर्ने उल्लेख गरे ।
प्रधान सम्पादकमा नियुक्त राउतले सबैको सामुहिक प्रयासबाट खेलकुद पत्रकारिताको अग्रणी सञ्चार संस्थाको रुपमा खेलपाटीलाई विकास गर्न आफुले प्रयास गर्ने बताए । 'खेलकुद पत्रकारितामा अनलाईन मिडियाको जुन उपस्थिती देखिएको छ । त्यसलाई अझ वृहतर रुपमा विकास गरेर उच्चतम सफलता हासिल गर्ने मेरो प्रयास रहन्छ ।' राउतले भने ।
राउतले २०४८ साल सप्तरी जिल्लाबाट सगरमाथा आवाज साप्ताहिकको रिपोर्टरका रुपमा आफ्नो करियर सुरु गरेका थिए । त्यसपछि उनले २०५२ देखि २०५४ सम्म श्री सगरमाथा र एभरेज हेराल्ड राष्ट्रिय दैनिकमा दुई वर्ष रिपोर्टरको रूपमा काम गरे । उनले सन् २०५३ देखि २०५४ सम्म रेडियो नेपालको रिपोर्टरको रुपमा पनि काम गरेका थिए ।
त्यसपछि उनले काठमाडौंमा राष्ट्रिय समाचार समितिको रिपोर्टरको रूपमा चार वर्ष काम गरे। उनले स्पेस टाइम्स राष्ट्रिय दैनिकको खेलकुद ब्यूरो प्रमुखको रूपमा पनि दुई वर्ष काम गरेका थिए ।
राउतले पूर्वाञ्चल विश्वविद्यालयबाट पत्रकारिता र जनसञ्चारमा स्नातकोत्तर गरेका छन् । यस्तै त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक गरेका थिए । उनले २०५१ सालमा उत्कृष्ट खोज रिपोर्टिङका लागि लोकेन्द्र स्मृति पत्रकार पुरस्कार पाएका थिए ।
खेलकुद रिपोर्टरका रूपमा राउतले १३ औं एसियाली खेलकुद बैंकक १९९८, टेम्पो वर्ल्ड लिजेन्ड्स कप क्रिकेट काठमाडौं, दक्षिण एसियाली खेलकुद काठमाडौं र ढाका, यू–१९ विश्वकप क्रिकेट बंगलादेश, एसीसी ट्रफी जस्ता विभिन्न अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा काम गरेका छन् ।
राउत नेपाल पत्रकार महासंघका काउन्सिल सदस्य तथा नेपाल खेलकुद पत्रकार मञ्चका केन्द्रिय सल्लाहकार हुन् ।