काठमाडौं । गरिबीका कारण विद्यालय छाड्नुपरेको तथा सडक बालबालिकाको सहयोगका लागि अन्तर्राष्ट्रिय ट्राभल एजेन्सी इन्ट्रापेड नेपालले आयोजना गरेको ‘ब्लु डायमण्ड हाफ म्याराथन’ आइतबार सम्पन्न भएको छ ।
च्यारिटी म्याराथनका रूपमा रहेको यस प्रतियोगितामा इन्ट्रापेड नेपालका कर्मचारी तथा इन्ट्रापेडसँग सहकार्य गरेका संघ संस्थाका प्रतिनिधिहरूले म्याराथनमा भाग लिएका थिए । ‘ब्लु ड्रागन म्याराथन’ इन्ट्रापेड नेपालको कार्यालय लाजिम्पाटबाट सुरु भएर महाराजगन्ज चोक, सामाखुसी चोक हुँदै ग्रिनल्यान्ड, टोखा, बूढानीलकण्ठ, हात्तीगौँडा, गोल्फुटार, महाराजगन्ज हुँदै पुनः लाजिम्पाट आएर सकिएको थियो ।
२१ किलोमिटरको ‘ब्लु ड्रागन च्यारिटी म्याराथन’मा २० जनाले दौडिएका थिए । त्यसमध्ये १२ जनाले मात्र दौड पूरा गरेका थिए । यस म्याराथनबाट जम्मा भएको रकम इन्ट्रापेडले भियतनामका बालबालिकालाई सहयोग गर्नेछ । इन्ट्रापेडले उक्त रकम भियतनामका रहेको ब्लु ड्रागन चिल्ड्रेन फाउन्डेसनमार्फत बालबालिकासम्म पु¥याउनेछ । इन्ट्रापेड नेपालले एक लाख ५० हजार रकम जम्मा गरेको छ । उक्त रकममा अष्ट्रेलियामा रहेको इन्ट्रापेड मुख्यालयले त्यति नै रकम थप गरेर भियतनाम पठाउनेछ ।
इन्ट्रापेड नेपालको एकमात्र ‘बीकर्प सर्टिफाइड’ ट्राभल कम्पनी हो । अष्ट्रेलियामा मुख्यालय रहेको इन्ट्रापेड ट्राभलको नेपाल, भुटान, सिंगापुर, अमेरिका, भियतनामलगायत थुप्रै देशमा कार्यालय छ । इन्ट्रापेडले आफ्नो कार्यालय रहेका सबै देशमा यस प्रतियोगिताको आयोजना गरेको छ ।