काठमाडौं । स्पेनिस टेनिस स्टार राफायल नाडालले स्विस टेनिस स्टार रोजर फेडेररको सन्यास घोषणाको निर्णयलाई विश्व खेलकुदका लागि दुखद दिन भएको बताएका छन् ।
२० पटकको ग्रान्डस्लाम विजेता फेडेररले बिहीबार यसै महिना लण्डनममा आयोजना हुने लेभर कपपछि टेनिसबाट सन्यास लिने घोषणा गरेका थिए ।
फेडेररको सन्यास घोषणापछि नाडालले सामाजिक संजालबाट दुखद दिनको संज्ञा दिएका हुन् ।
'प्रिय रोजर, मेरो साथी अनि प्रतिद्वन्द्वी । म चाहन्छु कि यो दिन कहिल्यै नआओस्,' नाडालले सामाजिक संजालमा लेखेका छन्, 'यो मेरो लागि व्यक्तिगत रूपमा र विश्वभरका खेलकुदका लागि दुःखको दिन हो।'
कीर्तिमानी २२ पटकको ग्रान्डस्लाम विजेता नाडालको चर्चित प्रतिद्वन्दी मध्ये फेडेरर एक हुन् ।
नाडालले टेनिस इतिहासमा ४० खेलमा २४ पटक फेडेररलाई हराएका थिए ।
'यति धेरै वर्षहरू तपाईसँग बाँड्न पाउनु खुसीको कुरा हो तर सम्मान र अवसर पनि हो,' २२ पटकको ग्रान्डस्लाम विजेता नाडालले लेखेका छन् ।
४१ वर्षीय फेडेरर टेनिसको सर्वकालीन महान खेलाडी मध्ये एक हुन् । तर, फेडेररले २०२१ मा विम्बल्डन टेनिस खेलेपछि खेलेका छैनन् ।
२० पटकको ग्रान्डस्लाम च्याम्पियन पछिल्लो समय घुँडाको चोटबाट पीडित थिए ।
फेडेरर सर्वाधिक ग्रान्डस्लाम जित्ने खेलाडीको सूचीको तेस्रो स्थानमा छन् ।
उनीभन्दा अघि राफायल नाडाल २२ र नोभाक जोकोभिचले २१ पटक ग्रान्डस्लाम उपाधि जितेका छन् ।