काठमाडौं । नवौँ राष्ट्रिय खेलकुदका लागि बागमती प्रदेशको बक्सिङ खेलको अन्तिम चरणको खेलाडी छनौट सुरु भएको छ ।
अन्तर्राष्ट्रिय खेलकुद परिसर सातदोबाटोस्थित केन्द्रीय बक्सिङ ट्रेनिङ सेन्टरमा सोमबारबाट छनौट प्रतियोगिता सुरु भएको हो ।
बागमती प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री रत्न प्रसाद ढकालको प्रमुख आतिथ्य तथा नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेको विशेष उपस्थिति छनौट प्रतियोगिता सुरु भएको हो ।
छनौटको फाईनलतर्फ पुरुषको ५१ केजी तौल समूहमा उमङ केसीविरुद्ध काभ्रेका लाल प्रसाद उप्रेतीले ५-० अंकमा जित हासिल गरे । ५७ केजी तौल समूहमा ललितपुरका सुयल ढंगोलविरुद्ध काठमाडौंका सुरोज महर्जनले वाकओभरको आधारमा जित हासिल गरे ।
सेमिफाइनलतर्फ महिलाको ५० केजी तौल समूहमा काभ्रेकी प्रतिष्ठा अर्यालले रामेछापकी रेजिना रन्जितकारमाथि ५-० अंकले जित हासिल गरिन ।
पुरुषतर्फ ५४ केजी तौल समूहमा ललितपुरका आर्यन थापाविरुद्ध मकवानपुरका सुदेश मानन्धरले ५-० अंकमा जित हासिल गरे ।
पुरुष ६० केजी तौल समूहमा दोलखाका अनिस घिसिङविरुद्ध रसुवाका सुलभ मालीले ५-० अंकमा जित हासिल गरे । सोही तौल समूहमा मकवानपुरका एनिस पुलामीविरुद्ध काठमाडौंका मार्शल गुरुङले ५-० अंकमा जित हासिल गरे ।
यस्तै ६३.५ केजी तौल समूहमा ललितपुरका सागर दर्जीविरुद्ध काठमाडौंका मनिस श्रेष्ठले ५-० अंकमा जित हासिल गरे।
प्रदेश छनौट समितिका प्राविधिक संयोजक नेपाल बक्सिङ संघका केन्द्रीय सदस्य मान बहादुर भण्डारीका अनुसार उक्त अन्तिमचरणको छनौट प्रतियोगितामा प्रथम प्रदेश खेलकुद –२०७८ मा प्रथम र दितिय हुने खेलाडी, एसियन खेलमा सहभागी भै बन्द प्रशिक्षणमा रहेको खेलाडीहरु र अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीहरु सहभागी भएका छन् ।