च्याम्पियन्स मार्सल आर्ट्स एकेडेमीको स्थापना

काठमाडौं । विभिन्न खेलका राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरुको पहलमा च्याम्पियन्स मार्सल आर्ट्स एकेडेमीको स्थापना भएको छ ।
काठमाडौं महानगरपालिकाको वडा नम्बर १६ खरिबोटमा २ रोपनी जग्गामा एकेडेमी स्थापना भएको हो । एकेडेमी शुक्रबारबाट औपचारिक रुपमा संचालनमा आएको छ ।
करिब २ करोड लागतमा स्थापना भएको एकेडेमीमा हाल कराते र तेक्वान्दोका ९० खेलाडीले प्रशिक्षण लिईरहेका छन् । करातेमा श्याम सुनुवार र तेक्वान्दोमा लालबहादुर बराम र युगेन गुरुङले प्रशिक्षण दिदै आएका छन् ।
एकेडेमीमा जुडो, उसु, बक्सिङको पनि प्रशिक्षण संचालन गरिने बताईएको छ । यस्तै एकेडेमीमा फिटनेस र जुम्बा सेन्टर समेत राखिने छ ।
एकेडेमी हाल अमेरिका बस्दै आएका ११ औं सागका स्वर्ण विजेता करातेका सुनिल लामा, फ्रान्स बस्दै आएका जुडोका सरोज अहर्जन, अमेरिका बस्दै आएका तेक्वान्दोका पुष्प थापा मगर, अष्ट्रेलिया बस्दै आएका उसुका राजु महर्जन र मकाउ बस्दै आएका सुजन जोशी तथा खेलकुदलाई माया गर्दै आएका अमृत लामा, संजय लामा र नरेन्द्र महर्जनको पहलमा एकेडेमी स्थापना भएको छ ।
एकेडेमी उद्घाटनको दौरान एकेडेमीले विभिन्न खेलका खेलाडीलाई सम्मान समेत गरेको छ ।
एकेडेमीले तेक्वान्दोका आयषा शाक्य, अविशेक कार्की, संगीता बस्याल, निशा रावल, करातेका मन्देकाजी महर्जन, मुकुन्द्र महर्जन, डिगम्बर प्रसाद पन्त, जुडोका श्रीराम माकाजु, उसुका विश्व बुढा मगर र मिना ग्लानलाई सम्मान गरेको हो ।
उद्घाटनमा जितबहादुर केसी, दिपक विष्ट, दिपक श्रेष्ठ,संगीना बैद्य, देबु थापा एकेडेमीका डिरेक्टर शुशिला लामा लगायतको उपस्थिति रहेको थियो ।

















