काठमाडौं । आठौं संस्करणको धारा नेपालगन्ज म्याराथन आगामी मंसिर ३ गते आयोजना हुने भएको छ ।
आयोजक क्रियटिभ ह्याण्ड्सले सोमबार प्रेस विज्ञप्ति निकाल्दै म्याराथन प्रतियोगिता मंसिर ३ गते शनिबार आयोजना हुने जनाएको छ ।
नेपाल सरकार र तत्कालिन विद्रोही माओवादीबीच बृहत शान्ति सम्झौता भएको दिनको अवसर पारेर आयोजना हुँदै आएको म्याराथनको खेलाडी दर्ता खुला भईसकेको समेत आयोजकले जनाएको छ ।
आयोजकले गत असार १५ गते देखि खेलाडी दर्ता खुला भएको जनाएको छ । नेपालगन्ज म्याराथनको वेभसाइटमा गएर खेलाडी फर्म दर्ता गर्न सक्ने बताईएको छ ।
यस संस्करणमा समेत बिभिन्न दश वटा विधाको स्पर्धा समावेश गरिएको छ ।
पुरुषतर्फ म्याराथन(४२.१९५किमी), महिलातर्फ हाफ म्याराथन(२१किमी), १० किमी पुरुष खुल्ला, ५ किमी महिला खुल्ला, ५ किमी स्कुलस्तरीय छात्र, ३ किमी स्कुल स्तरीय छात्रा, किड्स रन(८देखि १२ बर्ष उमेरसमुह), २ किमी कर्पोरेट रन, एक किमी ट्राइसाइकल र वाकाथन समावेश गरिएको छ । स्कुलस्तरीय दौड भने बाँके जिल्ला स्तरीय मात्र हुनेछ ।
केही विधातर्फ नगद पुरस्कार राशीमा वृद्धि गरिने र केही सरप्राइज प्याकेज पनि घोषणा गरिने अयोअक्ले बताएको छ । आठौं संस्करणमा कम्तीमा आठ देशका धावकलाई सहभागी गराउने तयारी भइरहेको आयोजकले जनाएको छ ।
नेपालगन्ज म्याराथनको पहिलो संस्करणमा नेपाली सेनाका होमलाल श्रेष्ठ विजेता बनेका थिए । त्यसैगरी दोस्रोमा सेनाकै कृष्ण बस्नेत, तेस्रोमा जुम्लानिवासी भारतीय गोर्खा सेनामा कार्यरत दुर्गाबहादुर बुढा, चौथोमा नेपाल पुलिस क्लबका भुमिराज राई, पाँचौंमा सेनाका भिमबहादुर साउद, छैठौंमा नेपाल एपीएफ क्लबका गोपीचन्द्र पार्की र सातौंमा एपीएफकै किरणसिंह बोगटी विजेता बनेका थिए भने महिला हाफ म्याराथनतर्फ सातौंमा गत बर्ष गोल्डेन गर्ल सन्तोषी श्रेष्ठ च्याम्पियन बनेकी थिइन । त्यसैगरी पहिलो एपीएफका कृष्णेस्वरी सिन्तकला, दोस्रोमा एपीएफकी कान्छीमाया कोजु, तेस्रोमा आर्मीकी रेशु बस्नेत, चौथोमा एपीएफकै कान्छीमाया कोजु, पाँचौंमा आर्मीकी पुर्णलक्ष्मी न्यौपाने, छैटौंमा एपीएफकी पुष्पा भण्डारी विजेता बनेका थिए । दुई संस्करण जित्ने एकमात्र खेलाडी कान्छीमाया कोजु हुन् ।