काठमाडौं । पल्सर सहिद स्मारक 'ए' डिभिजन लिगमा मनाङ मस्र्याङ्दी क्लबले लगातार दोस्रो जित निकालेको छ । शनिबार सुरु दोस्रो चरणको पहिलो खेलमा मनाङले न्युरोड टिम एनआरटीलाई २–० गोल अन्तरले पराजित गरेको हो ।
खेलको १७ औ मिनेटमा अन्जन विष्टको पेनाल्टी गोलमार्फत मनाङले अग्रता लिएको थियो । अन्जनलाई एनआरटीका खेलाडीले डिबक्स भित्र लडाँएपछि मनाङले पेनाल्टीको अवसर प्राप्त गरेको थियो ।
खेलको ३९ औ मिनेटमा एनआरटीको डिफेन्स लाईनलाई बिट गर्दै अफ्रिकन खेलाडी ओलावले अफिजले मनाङको अग्रतालाई दोब्बर बनाएका थिए ।
पहिलो हाफमा एकतर्फी एनआरटीलाई दबाबमा राखेको मनाङले गोलका धेरै अवसर सिर्जना गरेको थियो ।
खेलको ४० औ मिनेटमा बिमल रानाले प्रहार गरेको बल पोस्टमा लागेको फर्किएको थियो । उनै बिमलले पहिलो हाफको अन्तिम समयमा एकल प्रयासमा हानेको बल पोस्ट नजिकैबाट बाहिरिएको थियो ।
खेलको ६९ औ मिनेटमा मनाङका हेमन गूरुङले प्रहार गरेको बललाई एनआरटीका गोलकिपरले उत्कृष्ट बचाउ गरेका थिए ।
खेलमा मनाङका अन्जन म्यान अफ दि म्याच चुनिए ।
जितसंगै मनाङले २ खेलबाट ६ अंक जोडेको छ । र, शीर्ष स्थानमा उक्लिएको छ । समान खेलबाट एनआरटीको १ अंक छ ।
मनाङले पहिलो खेलमा ब्रिगेड ब्वाइजलाई ३ - १ ले हराएको थियो । एनआरटीले पहिलो खेलमा त्रिभुवन आर्मी क्लबसंग २ - २ गोलको बराबरी खेलेको थियो ।