काठमाडौं । थाइल्यान्डको बैंककमा हुने एसियाली क्याडेट तथा जुनियर जुडो च्याम्पियनसिपको पहिलो दिन सोमबार दुई नेपाली खेलाडीले प्रतिस्पर्धा गर्दै छन् ।
क्याडेटको पुरुष पुरुष ५५ केजीमुनि ताराबहादुर भुजेल र महिला ४८ केजीमुनि निशा श्रेष्ठले नेपालको चुनौती प्रस्तुत गर्न लागेको नेपाल जुडो संघका उपाध्यक्ष सूर्यनारायण श्रेष्ठले जनाएका छन् । ताराले पहिलो चरणमा थाइल्यान्डका खेलाडीलाई प्रतिद्वन्द्वी पाएका छन् । यो स्पर्धामा १६ खेलाडी सहभागी छन् ।
पहिलो चरणमा निशाले बाइ पाएकी छन् । अर्को चरणमा निशाले हङकङ र थाइल्यान्डका खेलाडीबीचको विजेतासंग प्रतिस्पर्धा गर्ने छिन् । निशाको स्पर्धामा १२ खेलाडी छन् । क्याडेटमा १६ राष्ट्रका १ सय ७४ खेलाडी सहभागी छन् ।
त्यस्तै मंगलबार जुनियरतर्फ पनि दुई खेलाडी प्रतिस्पर्धामा उत्रने छन् । पुरुष ६० केजीमुनि उत्तम प्रधान श्रेष्ठ र महिला ५२ केजीमुनि देवकीमाया श्रेष्ठले खेल्ने छन् । पहिलो चरणमा बाइ पाएकी देवकीले दोश्रोमा भारत र थाइल्यान्डबीचको विजेतासंग खेल्ने छिन् । यो स्पर्धामा ११ खेलाडी सहभागी छन् ।
उत्तमले १६ खेलाडी रहेको स्पर्धाको पहिलो चरणमा मंगोलियाका खेलाडीको सामना गर्ने छन् । जुनियरमा विभिन्न १५ देशका १ सय ६३ खेलाडीको सहभागिता रहेको उपाध्यक्ष श्रेष्ठले जानकारी गराए । घरेलु प्रतियोगिता चारै खेलाडीले बन्दी साहायता नियोग (पाम) बाट खेल छन् । देवकी र निशा सहोदर दिदीबहिनी हुन् ।