काठमाडौं । बेलायती कीर्तिमानी धावक मो फराहले आफु बाल्यकालमा मानव तस्करीमा परेको खुलासा गरेका छन् ।
बीबीसीले तयार पारेको एक डकुमेन्ट्रीमा फराहले आफुलाई बाल्यकालमा अवैध रूपमा बेलायत ल्याइएको र घरेलु कामदारको रूपमा काम गर्न बाध्य पारिएको खुलासा गरेका छन् ।
ओलम्पिक स्टारले बीबीसीसँग भनेका छन् कि बेलायत ल्याउनेले उनलाई मोहम्मद फराह नाम दिएका थिए । तर, उनको वास्तविक नाम हुसेन अब्दी कहिन हो।
अफ्रिकी मुलुक सोमालील्याण्डमा जन्मिएका फराह ९ वर्षको उमेरमा एक अपरिचित महिलाको साथमा बेलायत आएका थिए । र, उनलाई अन्य बालबालिकाको हेरचाहको लागि राखिएको थियो ।
'वर्षौंसम्म मैले यसलाई रोकिराखेको छु', ग्रेट ब्रिटेनको प्रतिनिधित्व गर्ने फराहले भनेका छन् ।
लामो दूरीका धावकले यस अघि आफु सोमालियाबाट आफ्ना आमाबाबुसँग शरणार्थीको रूपमा बेलायत आएका बताउदै आएका थिए ।
तर, बुधबार प्रशारण गरिएको डकुमेन्ट्रीमा फराहले आफ्ना आमाबाबु कहिल्यै बेलायत नआएको बताएका छन् । उनले आफ्नो आमा र दुई भाइहरू सोमालील्याण्डको एक राज्यमा बस्ने बताएका छन् ।
फराहले आफु चार वर्षको हुँदा सोमालियाको हिंसामा आफ्नो बुबा अब्दीको गोली हानी हत्या भएको समेत खुलासा गरेका छन् ।