काठमाडौं । चीनमा आयोजना हुने १९ औं एसियन गेम्सका लागि बक्सिङको दोस्रो चरणको छनौट प्रतियोगितामा पुलिसका भुपेन्द्र थापा मगर र नक्सालका सुष्मा तामाङ विजयी भएका छन् ।
सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आइतबार पुरुष ६३ किलो तौल समूहमा भुपेन्द्रले ललितपुरका निशान दासलाई अंकको आधारमा पराजित गरे ।
सोहि तौल समूहमा एपीएफका सोनमा सार्कीले त्रिभुवन आर्मी क्लबका लालु आले मगरलाई ३-२ को स्पिलिट डिसिजनका आधारमा पराजित गरे ।
महिला ५१ किलो तौल समूहमा सुष्माले त्रिभुवन आर्मी क्लबका ललिता महर्जनलाई ५-० अंकको आधारमा पराजित गरिन् ।
पुरुष ५२ किलो तौल समूहमा लक्ष्मण राईले एपीएफका प्रदिप महर्जनलाई ३-२ को स्पिलिट डिसिजनका आधारमा पराजित गरे ।
महिला ५१ किलो तौल समुहमा त्रिभुवन आर्मी क्लबका मिनु गुरुङले नेपाल पुलिसका रीता धरलालाई ५-० अंकको आधारमा पराजित गरिन् ।
महिला वैन्टम वैट ५७ किलो तौल समूहमा आर्मी बीका चन्द्रकला थापाले आर्मी बीकै विमला श्रेष्ठबाट वाकओभर पाइन् । सोहि तौल समूहमा निशा तामाङले बक्समाण्डुका हेमा राईलाई अंकको आधारमा पराजित गरिन् ।
महिला ६० किलो तौल समूहमा आर्मी एका पूनम रावलले आर्मी बीका वर्षा श्रेष्ठबाट वाक ओभर प्राप्त गरिन् ।
महिला ६९ किलो तौल समूहमा एपीएफ बीका विनिता थापा मगरले आर्मी एका निरु गुरुङलाई ५-० को आधारमा पराजित गरे ।
पुरुष ५७ किलो तौलमा बक्समाण्डुका सुरज महर्जनले आर्मी ए का इन्द्र बहादुर सुनारलाई पराजित गरे । सोहि तौल समूहमा पुरन राईले नेपाल पुलिसका शम्भु राजवंशीलाई अंकको आधारमा पराजत गरे ।
पुरुष ७५ किलो तौल समूहमा काठमाडौंका सनील शाहीले आर्मीका दिपक श्रेष्ठबाट वाक ओभर पाए ।