काठमाडौं ।
‘प्रिय नेपाली समर्थकहरू, म वरिष्ठ उपाध्यक्षले पछिल्लो तीन हप्तादेखि गरिरहेको नाटकका कारण राजीनामा दिन गइरहेको छु । अब तपाई खुसी हुनु भयो होला नि पंकज विक्रम नेम्वाङ ?’
२०७८ सालको श्रावण महिनाको समय । जतिबेला नेपाली फुटबल कोरोनाबाट तङ्ग्रिदै थियो । केहि अन्तराष्ट्रिय 'टुर' नेपालले सकेको थियो । केहि 'पाइप लाइन'मा थिए । राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आफ्नो सामाजिक संजालमा राखेको यो स्ट्याटसले एकाएक नेपाली फुटबल थर्कमान भयो ।
अकस्मात ! उनले यस्तो भुकम्प ल्याए कि जसको कम्पनले खेल जगत मात्र नभई सिंगो देश नै स्तब्ध रह्यो । झन् सामाजिक संजालको कुरा एक किसिमको ’इन्टरनेट ब्रेक’ नै थियो ।
यो त्यहि बेला थियो, जतिबेला नेपाली फुटबलमा प्रमुख प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको प्रभाव चरमोत्कर्षमा पुगेको थियो । उनको एउटा बोलीले सिंगो फुटबलको संरचना बदलिदिन सक्थ्यो । सामाजिक संजालमा उनि यति प्रख्यात थिए कि सायद नेपालका ठुला सेलिब्रेटि पनि उनको अघि स्टारडम फिक्का महसुस गर्थे होलान् । समर्थकका लागि त अझ भगवान जस्ता थिए, अल्मुताइरी । उनको बिरोध गर्ने आँट कसैसँग हुदैन थियो ।
खेलाडीपनि उनलाई अभिभावक भन्थे । उनका प्रशंसक उनको प्रशिक्षण शैली र खेल शैलीको तारिफमा घन्टौ बहस गर्न सक्थे । तत्कालिन अध्यक्ष कर्मा छिरिङ्ग शेर्पा नेतृत्वको एन्फाले उनको प्रभावलाई आउने चुनावको सुत्रनै मान्थ्यो । अरुको के कुरा गर्नु एन्फाका पदाधिकारी समेत उनीसँग सेल्फी लिएर फेसबुकमा फोटो हाल्दा गर्व गर्थे । अर्थात, तत्कालिन समयमा नेपाली फुटबलमा मैदानभित्र र बाहिर ’द रियल बोस’ अल्मुताइरी थिए ।
यो घटनाक्रमको तारो बनेका थिए, एन्फाका तत्कालिन बरिष्ठ उपाध्यक्ष पंकज बिक्रम नेम्बाङ । अल्मुताइरीले सार्वजनिक रुपमै लगाएको सो आरोपले तत्कालिन एन्फाभित्रका ’पिडित’ पंकजलाई मर्माहत तुल्यायो । उनी विक्षिप्त बन्न पुगे । सामाजिक संजालमा उनीविरुद्द गालीको बाढीनै आयो । ज्यानै मार्ने सम्मका धम्की आइसकेपछि उनले बाध्य भएर फेसबुक अकाउण्ट 'डिएक्टिभेट' गर्नु पर्यो ।
यो घटनाको लगभग एक बष अघि २०७७ मा मैले एक्सन स्पोर्ट्स टिभीको मेरो कार्यक्रम ’स्पोर्ट्स आवर’ मा पंकज बिक्रम नेम्बाङ्गलाई निम्ता गरेको थिए । त्यो बेला वरिष्ठ उपाध्यक्ष पंकजले एन्फामा ९ बुँदे फरक मत दर्ता गराइसकेका थिए ।
’एन्फा बैठकको निर्णयमा असहमती राख्दै माईन्यूट बुकमा आफ्नो असहमती लेख्न माग्दा संघको अध्यक्ष र महासचिवबाट लिखित असहमती पत्र लेख्न भनेकोले असहमती पत्र लेखेर एन्फा कार्यालयमा दर्ता गराएको छु ।’ मसँगको भेटमा नेम्वांगले भनेका थिए । धेरै एजेन्डा उनले त्यसमा समावेश गरेका थिए ।
’चेन्ज एन्फा’को नारा सहित एन्फा आएका नेम्बाङ्गले तत्कालिन अध्यक्ष कर्माछिरिङ शेर्पा नेतृत्वको कार्यसमितिले गरेको निर्णयबिरुद्ध पहिलो पटक फरक मत राखेका थिए । उनले केहि समय अघिदेखि नै एन्फा नेतृत्वसंग फरक मत राख्दै आएका भएपनि औपचारिक रुपमा एन्फा नेतृत्वबिरुद्व उभिएको संकेत दिएको त्यो पहिलो दिन थियो ।
एन्फामा ध्रुविकरण देखिने क्रममा थियो । पंकजको पक्षमा तत्कालिन केन्द्रिय सदस्य दावा लामा मात्र थिए । उपाध्यक्ष बिर बहादुर खड्का विकल्पको खोजीमा थिए तर पंकजको समर्थनमा खुलिसकेका थिएनन । कर्मा छिरिङ्ग शेर्पालाई ’गद्धार’ को आरोप लगाएका नबिन पाँडे यतिबेलासम्म अदृश्य रहेर नै पंकजलाई सघाइरहेका थिए ।
उनीसँग मेरो त्यो पहिलो भेट थियो । कार्यक्रम लाइभ थियो । झट्ट हेर्दा पंकज ’स्वीट’ देखिन्थे । मैले उनको ’बेबी फेस’ को तारिफ गर्दै उनलाई ’तपाई बुढेसकालपछि पछि पनि युवा देखिनु हुनेछ’ भनेर तारिफ गरेको थिए । उनी हाँसे ।
पंकजलाइ भेटेका मानिसलाई थाहा हुन्छ, उनी एकदम साधारण देखिन्छन् । कार्यक्रम अवधिभर मैले भनेका शब्दलाई उनी शान्त भएर खण्डन गर्थे । एउटा पिडाभाव चाँही मैले उनको अनुहारमा 'नोटिस' गरेको थिएँ । कारण सोध्दा उनी तत्कालिन अध्यक्षले आफूमाथि निरंकुशता लादेको, बरिष्ठ उपाध्यक्ष जस्तो पदलाई कुनै महत्व नदिएर एकलौटी पेलेको, समग्रमा आफुपनि एन्फाको कार्यसमितिमा छु भन्ने वास्ता समेत नगरेको दुखेसो पोख्थे । तत्कालिन अध्यक्ष शेर्पाले त्यो समय उनीहरुका विभिन्न जिम्मेवारी खोस्दै कार्यविहीन बनाएका थिए ।
मैले सिधा प्रश्न राखेको थिएँ , ’उसोभए तपाई के अब अध्यक्षको चुनाव लड्नु हुन्छ ?’
धेरै समय नै नलगाई उनले ’लड्छु’ भन्ने उत्तर दिए ।
’त्यसको लागि त टिम चहिएला, समर्थन चहिएला, यति छोटो समयमा कसरि जुटाउनुहुन्छ त सबै ?’
यो प्रश्नमा उनि एकछिन सोचमग्न भए ।
’मैले केहि जुटाउने भन्ने छैन, कर्माजीको यस्तो हर्कतले उहाँ आफ्नो खुट्टामा आफै बन्चरो हान्दै हिड्नु भएको छ । सत्ताको मातमा उहाँ अन्धो बन्नुभएको छ । मैले त विसंगतिको एउटा विकल्प मात्र देखाएको हुँ । अझै एक बर्ष बाँकी छ, उहाँको अत्याचारबाट पिडित हुने साथीहरु आफुसंग जोडिनुहुनेछ भन्ने बिश्वास छ ।’
दुई बर्षपछि २०७९ असार ६ गते बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा यो साँझ माहोल फरक देखिरहेको थियो । नेपाली फुटबलको सर्वोच्च निकाय एन्फाको निर्वाचन सम्पन्न भयो । सबैजना चुनाबी नतिजाको पर्खाइमा थिए । एक अध्यक्ष कर्मा छिरीङ्ग शेर्पा, जसतो मुठ्ठीमा एन्फाको सत्ता छ । अर्का बिद्रोही बरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङ्ग, जो सत्तामा त छैनन् तर अधिकांश सत्ताधारी उनको लागि सत्ता त्यागेर आएका छन् । दुईजना प्रतिद्वन्दी, धेरै कुरा दाउमा छ । आगामी चार वर्ष वार्षिक एक अर्ब बराबरको बजेट प्रयोग गर्ने संस्थाको नेतृत्वमा को बस्नेछ ? सारा देशको नजर एन्फाको चुनावी नतिजामा छ ।
१० श्रावण २०७८, एन्फा मुख्यालय सातदोबाटो जाने बाटोमा म सोचिरहेको थिए, आखिर एकजना कुवेती नागरिक जसको कर्तव्य खेलाडीलाई प्रशिक्षण गर्नुमात्र हो, नेपाली फुटबलको यति लामो इतिहासमा छोटो समयमै कसरी यस्ता शक्तिशाली प्रशिक्षक बन्न पुगे ? अझ प्रशिक्षक मात्र नभनौं ’कसरी नेपाली फुटबलको एक शक्तिशाली व्यक्ति बन्न पुगे ?’ जसको एउटा फेसबुक स्ट्याटसले मात्र एन्फाको कार्यसमिति निरिह बन्छ । पंकज त यहि कार्य समितिको वरिष्ठ उपाध्यक्ष थिए । सार्वजनिक रुपमै एउटा प्रशिक्षकले वरिष्ठ उपाध्यक्ष आक्षप लगाउने हिम्मत कसरी गर्छ ?
अल्मुताइरीको त्यो स्ट्याटस पछि समर्थकले आक्रोशित हुँदै एन्फा मुख्यालय घेर्ने योजना बनाएका थिए । प्रहरी पनि आइसकेको सुन्न पाइयो । त्यसैले म पनि सातदोबाटो हानिए । केहि समर्थक गेट बाहिरै पंकजलाई गाली गर्दै नारावाजी गरिरहेका थिए र अल्मुताइरीको राजिनामा स्वीकृत नगराउन र यदि कसैले राजिनामा दिनुपर्छ भने पंकजले दिनुपर्छ भन्दै उफ्रिरहेका देखिन्थे ।
एक बर्ष अघिको अन्तरवार्तामा नेम्वांगले ’अध्यक्षको चुनाव लड्छु’ भनेको याद आयो । तर अवस्था त उनको प्रतिकुल थियो । पंकजको छबि यतिबेलासम्म यस्तो बनिसकेको थियो कि उनि नै हुन्, जसले नेपाली फुटबल डुबाए । उनलाई यु–१६ टोलीमा योग्य खेलाडीलाई बाहिर राखेर आफ्नो छोरालाई जबर्जस्ती टोलीमा घुसाएको आरोप पनि लाग्यो । त्यो दिन पंकज नेपाली फुटबलका सबै भन्दा ठुलो भिलेन बन्न पुगेका थिए ।
सातदोबाटोमा नेम्बाङले आफूमाथि षडयन्त्र भएको प्रतिक्रिया दिए । ‘मेरो स्पष्ट कुरा छ । यो निराधार षडयन्त्रपुर्वक ममाथि आएको विज्ञप्ति ठानेको छु । म जहिलेपनि सत्यको वकालत गर्दै एन्फामा बसिरहेको व्यक्ति हो । एन्फाले यस विषयमा छानबिन गर्छ । म दोषी देखिए फुटबल संघबाट राजीनामा दिन्छु ।’ उनले भनेका थिए ।
त्यो परिवेश, त्यो समय पंकजको लागि साँच्चै नै कठोर थियो । उनले मानसिक रुपमा कति सहे, कति भोगे त्यसको अहिले कल्पना मात्र गर्न सकिन्छ । एन्फाभित्र फरक मत राख्दै आएका पंकजलाई अल्मुताइरीले एउटा स्ट्याटसको भरमा फुटबलको ’राक्षस’ बनाइदिएका थिए । अध्यक्षको प्रत्यासी त परै छाडौं, मैले सोचे अब पंकजको राजनीतिक भविश्य के होला ?
२०७९ असार ६ गते । बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा एन्फा चुनावको नतिजा आयो । तत्कालिन अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतले पराजित गर्दै उनै पंकज एन्फा अध्यक्षमा निर्वाचित भए । नेम्बाङले ४५ मत प्राप्त गर्दा शेर्पाले ३९ मत प्राप्त गरे । उनले आफ्नो अभियान अन्तत सफल पारे । पंकजलाइ यो अभियानमा शेर्पासँग असन्तुष्ट सबै जोडिन आईपुगेका थिए ।
यो अभियानमा कर्माबाट धोका पाएको दाबी गर्दै आएका नबिन पाँडे, एन्फाको सत्तामा निरन्तर बस्दै फुटबल राजनीतिको माहिर खेलाडी बनिसकेका बिर बहादुर खड्का र पंकजलाई उतारचढावमा साथ दिदै आएका दावा लामाकै भुमिका महत्वपुर्ण रह्यो ।
कुनैदिन समयले फुटबलको ’भिलेन’ बनाएका पंकज अब नेपाली फुटबलको ’सिंहासन’ मा पुगेका छन् । अलमुताइरीको स्ट्याटस प्रकरणले नेम्वाङ्गको फुटबलको राजनीतिक जीवनमा गम्भिर धक्का लागेको थियो । कर्माविरुद्ध आक्रमक तरिकाले प्रस्तुत भइरहेका नेम्वाङ्गमाथि अल्मुताईरीले आफ्नो 'स्टन्ट' मार्फत ‘ब्याकफायर’ गरेका थिए । एन्फाको निर्वाचनमा अध्यक्षमा उम्मेदवारी दिने तयारी गरेका नेम्वाङको सामाजिक र राजनीतिक प्रतिष्ठामा गम्भिर चोट लागेको थियो । तर उनले यसबाट 'रिकोभरी' पाएरै छाडे । फुटबल राजनीतिमा एक समय भिरको डिलमा पुगिसकेका पंकजलाई अन्तिममा फुटबलले नै आफ्नो अभिभावक रोजेको छ ।
अहिले जब उनको यो ’रोड टु रिडेम्पसन’ सम्झिन्छु, एउटै कुरा बुझ्छु ’दुखमा आत्तिनु र सुखमा मात्तिनु’ हुन्न रहेछ ।
फुटबलको आफ्नै भाषा हुन्छ । यो भाषा कर्माभन्दा धेरै पंकजले बुझे । ’सबै गर्छु’ भन्दै बोल्नु भन्दा ’सबै गरेर बोल्छु’ सोचेको भए कर्मा एण्ड कम्पनीको यो बहिर्गमनको समयावधि थोरै लम्बिन सक्थ्यो । फुटबल राजनीतिका अनेक दाउपेच पंकज एण्ड कम्पनीले सहि समयमा खेल्यो, ती मध्य अधिकांश सफल रहे ।
हिजो उनले भन्ने गरेका थिए, ’पारदर्शिता, भ्रष्ट्राचारमा शुन्य सहनशीलता तर त्यसको ठिक विपरित नेतृत्वले काम गरेको छ।’
अब नेम्बाङ आफै नेतृत्वमा आएका छन् । आफुले भने जस्तै टिमको साथ छ । घोषणा गरेअनुसार नेपाली फुटबललाई अघि बढाउन् ।
बधाई तथा शुभकामना ।