काठमाडौं । असोज दोस्रो साता त्रिभुवन आर्मी क्लब र न्युरोड टिम एनआरटीबीचको खेलसँगै सुरु भएको पल्सर सहिद स्मारक 'ए' डिभिजन लिगको दोस्रो चरणको खेलहरु शनिबारबाट सुरु हुँदैछ ।
सिग्नेचर मनाङ मर्स्याङ्दी क्लब र ब्रिगेड ब्वाइज क्लबबिचको खेलसंगै असोज अन्तिम साताबाट रोकिएको लिगको दोस्रो चरणको खेलहरु शनिबारबाट सुरु हुन लागेको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली र हिन्दुहरुको दशैँ, तिहार र छठ पर्वलाई मध्ये नजर गर्दै असोजको अन्तिम साताबाट लिग स्थगित गरेको थियो ।
दशैँ, तिहार र छठ पर्व सकिएसंगै एन्फाले दोस्रो चरणको लिगहरु संचालन गर्न लागेको हो । र, शनिबार सिग्नेचर मनाङ र एनआरटी क्लबले प्रतिस्पर्धा गर्दै दोस्रो चरणको लिग सुरु हुनेछ ।
हल्चोकस्थित सशत्र प्रहरी बलको एपीएफ मैदानमा मनाङ र एनआरटीबीचको खेल बिहान ११ बजे सुरु हुनेछ । यस्तै शनिबार नै त्रिभुवन आर्मी क्लबले च्यासल युथ क्लबको सामना गर्नेछ । उक्त खेल दिउसो २ बजे सुरु हुनेछ ।
झन्डै ४ बर्षपछि सुरु भएको 'ए' डिभिजन लिगको पहिलो चरणको खेल सकिँदा दाबेदारीको रुपमा हेरिएका मनाङ, नेपाल पुलिस क्लब, रुस्लान थ्री स्टार क्लब र संकटा क्लबले जित निकालेका छन् ।
उपाधि दाबेदारीको रुपमा हेरिएका त्रिभुवन आर्मी, च्यासल युथ क्लब, एपिएफ क्लब, हिमालयन शेर्पा, मछिन्द्र क्लब र एनआरटी बराबरीमा रोकिन पुगेका थिए । फ्रेन्डस् क्लब, जाउलाखेल युथ क्लब, सरस्वती युवा क्लब र ब्रिगेड ब्वाइज क्लबले भने पहिलो चरणमा हार व्यहोरेका छन् ।
पहिलो चरणमा मनाङ बलियो टोलीको रुपमा देखिएको छ । मनाङले पहिलो खेलमा ब्रिगेड ब्वाइजविरुद्ध तीन गोल गर्दै एक गोल व्यहोरेको छ । र, ३ अंक जोडेको मनाङ शीर्ष स्थानमा छ ।
मनाङले १ गोलले पछि परेको स्थिति उल्टाएर जित निकालेको थियो । मनाङलाई जित दिलाउन विदेशी खेलाडी ओलावाले आफिजले दुई गोल गरेका थिए ।
पहिलो चरणमा ललितपुरे क्लब थ्री स्टारले मनाङलाई पछ्याईरहेको छ । पहिलो खेलमा डर्बी क्लब फ्रेन्ड्स क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै थ्री स्टारले ३ अंक जोडेको छ ।थ्री स्टार लिगको दोस्रो स्थानमा छ ।
यस्तै पहिलो चरणमा नेपाल पुलिसले जावलाखेललाई १ - ० ले पराजित गरेको थियो । संकटाले सरस्वती युथ क्लबलाई १ - ० ले नै पाखा लगाएको थियो ।
उपाधि दाबेदार आर्मी भने एनआरटीसंग २ - २ गोलको बराबरीमा रोकिएको थियो । मोफसलमा आधा दर्जन उपाधि जितेको आर्मीले पहिलो खेलमा उच्च प्रदर्शन गर्न सकेको थिएन ।
लिग अन्तर्गत अब बाँकी प्रत्येक चरणका खेलहरु एक सातामा तीन दिन हुने एन्फाले जनाएको छ । जसमा तीन दिन तीनै खेलहरु हुनेछ ।
एकै दिन दुई खेल भएमा दुवै खेल एन्फा टेक्निकल सेन्टरमा आयोजना हुनेछ भने तीन खेल रहेको स्थितिमा एक खेल हलचोक मैदानमा हुनेछ ।
लिग अन्तर्गत दोस्रो चरणको दोस्रो दिन आइतबार नेपाल पुलिस क्लबले बिहान ११ बजे मछिन्द्र क्लबको सामना गर्नेछ । यस्तै दिउसो २ बजे सुरु हुने खेलमा ब्रिगेड ब्वाइज क्लबले रुस्लान थ्रीस्टार क्लबको सामना गर्नेछ । दुवै खेल एन्फा टेक्निकल सेन्टरमा हुनेछ ।
त्यस्तै दोस्रो चरणको अन्तिम दिन तीन खेल हुनेछ । दुई खेल एन्फा मैदानमा हुनेछ भने एक खेल एपिएफ मैदान हलचोकमा हुनेछ ।
पहिलो खेल जावलाखेल युथ क्लबले बिहान ११ बजे संकटा क्लबको सामना गर्नेछ । त्यस्तै फ्रेन्डस् क्लबले दिउसो २ बजे एपिएफको सामना गर्नेछ । दुवै खेल एन्फा टेक्निकल सेन्टरमा हुनेछ ।
दोस्रो चरणको अन्तिम खेलमा हिमालयन शेर्पा क्लब र च्यासल युथ क्लबले प्रतिस्पर्धा गर्नेछन् । एपिएफ मैदानमा हुने दुई टोलीबीचको खेल दिउसो २ बजे सुरु हुनेछ । यस खेलपछि दोस्रो चरणको खेलहरु सकिनेछ ।