इलाम । जब कोही खेलकुदको मैदानमा उत्रन्छ उसको पहिलो लक्ष्य खेलकुदबाट आफ्नो पहिचान बनाउने नै हुन्छ ।
त्यहिँ लक्ष्यको सपना पूरा गर्न वर्षौंसम्म दिनरात पसिना बगाउँछन्,आफनो लगनशिलता देखाउँछन् परिश्रम गर्छ, आएका अरु केही राम्रा अवसरहरु भन्दा खेलकुदलाई महत्व दिन्छन् ।
मास्लोको आधारभुत आवश्यकताको सिद्धान्तको पिरामिड झै सुरक्षा आवश्यकता, सामाजिक आवश्यकता, अहम आवश्यकता र अन्तमा आत्मसन्तुष्टीको आवश्कता चाहन्छ । आत्मसन्तुष्टीको आवश्यकता भनेको खेलकुदबाट उसले भविष्य सुरक्षित गर्ने मार्ग खोज्नु हो ।
जब राज्यले पनि केही नगरेको अनुभूति गर्छ त्यसवेला विकल्पको खोजीमा लाग्छन् । अर्थात् पलायनको बाटो रोज्न बाध्य हुन्छ ।
खेलाडी पलायनको श्रृङखला खोज्ने हो भने फुटबल अग्रपंक्तिमा आउँछ । विश्वको सर्वाधिक लोकप्रिय खेल भएको कारण फुटबलरहरुको पलायनलाई चासोपुर्वक हेरिएको छ ।
एउटा फुटबलर आफुले देशलाई खेलकुदमा माध्यमबाट योगदान दिने समयमा विदेशिन्छ । तर अभिभावक निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) टुलुटुलु हेर्न बाहेक अरु केहि गर्न सक्दैन् ।
अर्को तर्फ एन्फासँग खेलाडी पलायन रोक्ने कुनै व्यवसायिक योजना समेत छैन् । एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङको शव्द सापटी लिएर भन्ने हो भने 'एन्फा नेतृत्व पद र प्रतिष्ठा जोगाउन तल्लीन छ ।'
एन्फा नेतृत्वमा कर्माछिरिङ शेर्पा रहँदा खेलाडीको हितमा काम नगरेको आरोप लगाउँदै आएका नेम्वाङ आज आफै नेतृत्वमा छन् । खेलाडीलाई फुटबलमा टिकाउन योजना नभएकाले पलयान भएको बताउँदै आएका उनको काधमा अब खेलाडी पलायन रोक्ने गहन जिम्मेवारी छ ।
अघिल्ला नेतृत्व खेलाडी पलायनमा गम्भीर बन्न नसकेका आरोप लगाउँदै आएका नेम्वाङले जितको बधाई थापी नसक्दै राष्ट्रिय टोलीका ३ जना खेलाडी एकै साथ विदेश पलायन भए । राष्ट्रिय टोलीका प्लेमेकरहरु विदेशिँदा एन्फाको नयाँ नेतृत्व मुकदर्शक बन्न मात्र सक्यो । त्यसो त फुटबलमा पलायनको श्रृङखला पंकज नेम्वाङ नेतृत्वमा आएपछि सुरु भएको हैन् । भरखरै पलायन भएका दर्शन गुरुङ, सन्तोष तामाङ र नविन गुरुङको भिषा एन्फा नेतृत्वमा कर्माछिरिङ शेर्पा रहँदै आएको थियो । एन्फामा गणेश थापा अध्यक्ष रहँदा विश्वकप छनौटका लागि जापान गएका खेलाडीहरु उतै लुकेको कथा नेपाली फुटबलको प्रसंगमा सधै उप्किरहन्छ ।
खेलाडीको सामान्य जीवनयापनको व्यवस्थापन गर्न चुक्दा पलायन खेलाडीहरुले रोज्न बाध्य भएको बताउने नेम्वाङ नेतृत्वसंग खासै नयाँ योजना छैन् । विगत २ दशक देखि उठ्दै आएको तर कार्यान्वयन हुन नसकेको ६ महिने लिग नै नेम्वाङ नेतृत्वको समेत योजना हो ।
एन्फाका महासचिव किरण राई नेपाली फुटबलमा व्यवसायिकता रहेको बताउँछन् । तर उनको तर्कसंग पूर्व राष्ट्रिय खेलाडी प्रलय राजभण्डारी तर्क मेल खाँदैन् । प्रलय नेपाली फुटबल एमेच्योर रहेको बताउँछन् ।
'नेपाली फुटबल पुरै एमेच्योर लेभलमा छ कहाँ प्रोफेसनल र सेमीप्रोफेसनल हुनु । सानो भन्दा सानो पुर्वाधार पनि यहाँ छैन् । विभागीय टोली र जावलाखेल बाहेकको प्रशिक्षण गर्ने आफ्नो मैदान समेत छैन् । कसैले १० लाख फालिदिए क्लबले नाम नै परिर्वतन गरिदिन्छन् । विश्वका अन्य लिगमा क्लबको नामको अगाडी स्पोन्सरको नाम आएको सुन्नुभएको छ । वर्षभरी खेलाडी पाल्ने क्षमता छैन् । क्लब भएपछि रिर्जभ टिम हुनुपर्यो । उमेर समूहको टिम हुनुपर्यो । मेनेजमेन्ट हुनुपर्यो हाम्रो क्लबमा त्यस्तो पाइदैन् । अनि खेलाडी पलयान नभएर के हुन्छ ।' त्यसो त प्रलय आफै पनि नेपाली फुटबलमा भविष्य नदेखेर अमेरिका पलायन भएका पात्र हुन् ।
एन्फालाई थाहा होला कति खेलाडी पलायन भए ?
नेपाली फुटबलको अभिभावक संस्था एन्फा हो । खेलाडीहरुको तथ्य र तथ्यांकसंगै व्यवसायिक करियर सुरक्षित गराउनका लागि मार्ग प्रशस्त गर्ने निकाय पनि हो एन्फा । तर बर्सेनी कति खेलाडी फुटबलबाट पलायन हुन्छन् भन्ने रेकर्ड एन्फासंग समेत छैन् । खेलाडी पलायनको संख्या बारेमा महासचिव राईसंगै जिज्ञासा राख्दा उनीसंग उत्तर नै छैन् । सन् २०१८ यता मात्र कति खेलाडीले नेपाली फुटबल छाडेर विदेश पलायन भए भन्ने समेत एन्फाले डाटा राखेकै छैन् । त्यसबेला एन्फा कार्य समितिमा रहेका केही जिम्मेवार पदाधिकारीहरु बढुवा सहित असार ६ गते दोहोरिएका छन् ।
महासचिव राई फुटबल खेलेर खेलाएर सिकाएर गुजारा गर्नेको ठुलो संख्या रहेको बताउँछन् । 'राम्रो खेलाडी खेलेर बाच्न सक्ने आधार तयार पारेका छौ । पैसा भन्दा पनि राज्यका लागि के के योगदान गरे भन्ने सोच्नुपर्छ फुटबल खेलेर पाएको सम्मान पैसा किन्न सकिदैन्,' उनले भने 'खेलाडी पलायन रोक्ने योजना के छ भन्दा लिग गर्ने क्लबहरुलाई क्रियाशिल गराउने र क्लबबाट तलब धेरै खुवाउने ।'
अष्ट्रेलियामा अहिले नेपाली राष्ट्रिय टोलीका पूर्व गोलरक्षक एलेन न्यौपाने, मिडफिल्डर हेमन गुरुङ, जगजित श्रेष्ठ, सुमन लामा, आशिष लामा, सुलभ मास्के लगायतका खेलाडीहरु छन् । पछिल्लो समय यो टिममा दर्शन गुरुङ,सन्तोष तामाङ र नविन गुरुङ समेत थपिए । कतिपय खेलाडी त्यहाँ सेमी प्रोफेसनल फुटबलमा समेत सक्रिय छन् । अष्ट्रेलिया पलायन भएका फुटबलरहरुलाई मात्र एकातिर राख्ने हो वर्तमान नेपाली राष्ट्रिय टोलीलाई हराउन सक्ने टोली खडा हुन्छ।
खेलाडीको गुनासो : खेल्न सकुन्जेल हाई हाई त्यसपछि कोहि न कोही
नेपालमा फुटबल खेलेर बाँच्न सक्ने अवस्था अझै पनि विकास हुन सकेको छैन् । राजनितिक खिचातानी र नातावाद कृपावादले नेपाली फुटबल पछाडी धकेलिदै गएको खेलाडीहरुको गुनासो छ । सामान्य चोटपटक लाग्दा समेत एन्फाबाट उपचारको लागि सहयोग हुँदैन् ।
'फुटबलमा एकछिनको वाहवाह मात्र हो । चोट पटक लागेपछि झन गाह्रो हुन्छ । मेरो एङ्गल क्रेक भएपछि सोच्नै पर्ने भयो । कुनै दिन खेल्न सक्दिन भन्दा पनि जवरजस्ती खेल्नुपर्छ कुनै पनि खेल्छु भन्दा पनि पाउँदैन् उदाहरणका लागि अनु (अनु लामा) लाई हेरे पुग्छ ।' राष्ट्रिय टोलीकी पूर्व गोलरक्षक नविता दली गुनासो गर्छिन् ।
नेपाली फुटबलबाट केही पनि अपेक्षा नरहेको नविताले सुनाइन् । 'अब केही अपेक्षा छैन् । राष्ट्रिय टिममा हुँदा त केही भएन् अब के हुन्छ र ? तर अब आउने बैनीहरुको राम्रो होस हाम्रो जस्तो नहोस् सेवा सुविधा राम्रो पाएर फुटबलबाट पलायन नहुन्,' उनले भनिन् , 'आफ्नै देशमा केही गर्ने मन थियो के गर्नु यहाँ सोर्स र पैसा अगाडी आउँछ हामी जस्ता मध्यम बर्गको केही चल्दैन् । त्यही भएर पलायन हुनुपर्ने बाध्यता छ ।'
नेपाली फुटबलको स्तर उकास्नका लागि भनेर गणेश थापा एन्फा अध्यक्ष हुने वितिक्कै एकेडेमी सुरु गरे । अखिल नेपाल फुटबल संघले जब एन्फा एकेडेमीको सुरुआत गर्यो त्यसपश्चात नेपाली फुटबलले थप उचाइ लियो । पहिलो ब्याचमा प्रदीप महर्जन, अञ्जन केसी, विक्रम महर्जन, लोकबन्धु गुरुङ, बिजय गुरुङ, प्रलय राजभण्डारी, विकास मल्ल लगायत थुप्रै राम्रो फुटबलर उत्पादन भए । त्यस समय थापाले एसियाको नमुना टोलीको रुपमा सो ब्याचलाई चिनाउँथे, जुन ब्याच ५ वर्षसम्म एन्फा एकेडेमीमा रहे । एन्फाबाट बाहिरिएर पाँच–सात वर्ष लिग खेलेपछि ती उत्कृष्ट ब्याचका खेलाडी विस्तारै खेलाडी जीवनबाट पलायन भए ।
एन्फाले २०५४ मा एकेडेमी सुरु गर्दा १२ वर्षमुनिका ४० खेलाडी राखेको थियो । त्यसअनुसार अहिले ती खेलाडीको उमेर ३४÷३५ वर्ष हुन्छ । सामान्यतया यो उमेरमा खेलाडीहरू व्यावसायिक फुटबलमा सक्रिय हुनुपर्छ । तर अहिले एन्फा एकेडेमीको त्यो ब्याचका अधिकांस खेलाडी मैदानमा छैनन् । तीमध्ये केही फुटबलमा योगदान गर्ने लक्ष्य बोकेर फुटबल प्रशिक्षक बने भने धेरैले फुटबल छोडेर विभिन्न पेसा अँगाल्दै खेल क्षेत्रलाई नै अलबिदा गरे । विकास मल्ल अहिले पुरुष फुटबल टोलीका गोलरक्षक प्रशिक्षक छन् ।
विजय गुरुङ लामो समयपछि कमब्याक गर्दै बिग्रेड ब्वाइजबाट शहिद स्मारक लिग खेले । उनकै कप्तानीमा २०७७ मा इरानमा नेपालले एएफसी फुटसल खेल्यो । मानसजन राजभण्डारी काठमाडौंमा फुटसल संचालन गर्छन् । एन्फा गोल्डेन ब्याचका २÷४ जना बाहेक अरु व्यवसायिक फुटबलमा सक्रिय छैनन् ।
दुःखको कुरा, देशका लागि मैदानमा आफ्नो ज्यानको बाजी लगाउने 'ए' डिभिजन खेलाडीमध्ये आधाजति खाडीको तातो हावामा पसिना बगाइरहेका छन् । पलायन भएका खेलाडीहरुको आजकाल नोस्टाल्जियामा रमाउँछन् । अर्थात व्यवसायिक फुटबल खेल्दा ताकाका पुराना फोटाहरु सामाजिक संजालमा पोष्ट्याएर विगत सम्झदै बसेका छन् । एन्फाभित्रको विवाद र लामो समयसम्म लिग नहुँदा क्लासिक डिफेन्डरको छवि बनाएको इलामका लोकबन्धु गुरुङ बेलायत पलायन भए ।
केमडेन टाउन लन्डनको सुसी जापनिज रेस्टुरेन्टमा अहिले एन्फा पहिलो ब्याचका लोकबन्धु सुसी सेफमा रुपमा काम गर्छन् । दिनको ८ देखि १० घन्टा उनी यहीं बिताउँछन् ।
'लिग समेत नियमित हुन् सकेन् । फुटबल खेलेर जिन्दगी नचल्ने भएपछि केही विकल्प खोज्नै पर्ने थियो । मैले बेलायत रोजे,' लोकबन्धुले भने, 'नेपाली फुटबलमा प्रोफेसनालिज्म नै छैन् । २÷४ महिना लिग हुन्छ त्यसपछि खेलाडीहरु बेरोजगार हुन्छन् । अहिलेसम्म खेलेर बाँच्ने वातावरण बनाउने बारेमा कसैले पनि सोच्नै सकेको छैन् ।'
लोकबन्धु बेलायतमा श्रीमती र छोरीसंगै रमाइरहेका छन् । २०६१ सालको लिगको बेस्ट डिफेन्डर बेलायत पलायन भएको एक दशक नाघ्यो । फुटबललाई माया मार्न नसकेपछि लोकबन्धुले त्यहाँ सन्डे लिग खेल्न थाले, तर खुट्टा भाचिएपछि झन्डै डेढ वर्ष घरमै थन्किनुपर्यो । खुट्टा अझैसम्म पुर्ण रुपमा ठिक नभएको लोकबन्धु सुनाउँछन् ।
'फुटबल करियरको उच्च फर्ममा रहँदा छाड्नु पर्दा दुःख लागेको छ । नेपाली फुटबल छाडेर अर्काको देशमा आउनु मन कहाँ थियो र ? सन्तानको भविष्य र परिवारको जिम्मेवारी काधमा आएपछि पलायन हुनुको विकल्प पनि त रहेन्,' लोकबन्धु भन्छन्, 'यहाँ आएर फुटबलमा लाग्ने समय नै भएन् । एकातिर उमेर पनि गइसकेको थियो अर्को तर्फ काम नगरी खान समस्या ।'
नेपाली फुटबलरहरु पलायन हुने क्रम भरखरै मात्र सुरु भएको हैन् । सन १९९० र २००० को दशकमा नेपाली फुटबलमा आफ्नो प्रभाव छाडेका दिपक अमात्य, देवनारायण चौधरी, बसन्त गौचन, बसन्त थापा लगायत त्यसबेलाका नेपाली फुटबलका हस्तीहरु आजकाल जापान, युरोप र अमेरीकी देशमा फुटबल भन्दा फरक पृष्ठभुमीमा देखिन्छन् ।