काठमाडौं । त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ र एपीएफ क्लबका दिपेश धामीले योनेक्स सनराईज आठौं पुष्पलाल स्मृती राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएका छन् ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा बिहिबार पुरुष एकलतर्फ रत्नले पुलिसका निर बिक्रम देवकोटालाई २१-१७ र २१-१८ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएका हुन् । यस्तै दिपेशले सिल्क ग्रुपका प्रिन्स दाहाललाई २१-१६ र २२-२० ले पराजित गरे ।
अब रत्नले आफ्नै क्लबका रुकेश महर्जनको सामना गर्ने छन् । दिपेशले आर्मीकै नविन श्रेष्ठसंग प्रतिस्पर्धा गर्नेछन् ।
बिहिबार नै रुकेशले पुलिसका बिष्णु कटुवाललाई २१-१६ र २१-१९ ले पाखा लगाएका थिए । यस्तै नविनले भोजपुरका बिकास श्रेष्ठलाई २१-१९ र २१-११ ले पन्छाएका थिए ।
महिलातर्फ आर्मीका नङ्गशल देवी तामाङले बाँकेकी सम्झना शर्मालाई २१-१२ र २१-८ ले हराएर सेमिफाइनलमा स्थान बनाईन् । नङ्गशलले फाईनल प्रवेशका लागि एपिएफकी शोभा गौचनको सामना गर्ने छिन् । शोभाले आर्मीकी अनुमाया राईलाई २१-१७ र २१-१९ ले पन्छाईन् ।
यस्तै आर्मीकी रशिला महर्जनले गत सातौं संस्करणकी विजेता एपिएफकी जेशिका गुरुङ्गसंग सेमिफाईनलमा प्रतिस्पर्धा गर्ने छिन् । रशिलाले आर्मीकै रञ्जना भट्टलाई २१-१४ र २१-१३ तथा जेशिकाले आर्मीकि अमिता गिरी माथि १९-२१, २१- १५ र २१-११ को जित निकाले ।
प्रतियोगिताको यु—१७ ब्वाईजतर्फ प्रिन्स दाहाल, प्रियान्सु सिंह क्षेत्री, दिवश शंकर र पेम्बा शेर्पाले सेमिफाइनलमा स्थान पक्का गरेका छन् । महिला तर्फ रशिला महर्जन, रञ्जना भट्ट, रोज पाण्डे र सिमा राजबंशीले अन्तिम चारको यात्रा तय गरे ।