काठमाडौं । साविक विजेता त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ्ग र एपिएफका दिपेश धामी आठौं पुष्पलाल स्मृती राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिताको अन्तिम आठमा प्रवेश गरेका छन् ।
पुष्पलाल स्मृती ब्याडमिन्टन प्रतियोगिताका लगातार छैटौ पटकका विजेता तामाङ्गले बुधबार प्रि क्वाटरफाइनलमा एपिएफका सुनिल जोशीलाई २१-६ र २१-१७ को सोझो सेटमा पाखा लगाए । यस्तै दिपेशले आर्मीका प्रफुल महर्जनमाथि २१-१५ र २१-१५ को जित निकाले ।
प्रतियोगितामा नेपाल पुलिसका बिष्णु कटुवाल र निर विक्रम देवकोटाले पनि अन्तिम आठमा स्थान बनाए । बिष्णुले एफिएफका विजित थापामगरलाई २१-१७ र २१-१४ तथा निर विक्रमले एपिएफकै सुदीप सेंढाईलाई १२-२१, २१-८ र २१-१० ले हार चखाए ।
यसैगरि आर्मीका रुकेश महर्जनले एपिएफका साजन कृष्ण ताम्राकारलाई २१-१८ र २१-१४, आर्मीकै नविन श्रेष्ठले पुलिसका जीवन आचार्यलाई २१-७ र २१-१३, भोजपुरका विकास श्रेष्ठले एपिएफका गौतम कठायतलाई २१-१७ र २१-१६ तथा सिल्क ग्रुपका प्रिन्स दाहालले पुलिसका दीपक बोहरालाई २१-१९ र २१-१४ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाए ।
महिलातर्फ सातौं संस्करणकी विजेता एपिएफकी जेशिका गुरुङले जित निकाल्दै क्वाटरफाईनलमा स्थान बनाईन् । जेशिकाले भोजपुरकी सिता राईलाई २१-१७ र २१-१९ ले पराजित गरिन् । यस्तै आर्मीका नङ्गशल देवी तामाङ, अनुमाया राई, रशिला महर्जन, रञ्जना भट्ट र अमिता गिरीले पनि जित निकाल्दै अन्तिम आठमा स्थान बनाए ।
पुरुष जोडी तर्फको खेलमा एपिएफका दिपेश धामी र विजित थापामगरको जोडीले ललितपुरका श्याम महर्जन र कृष्ण श्रेष्ठको जोडी माथि २१-१२ र २१-११ को जित निकाले । यस्तै पुलिसका दीपक बोहरा र जीवन आचार्यको जोडीले ललितपुरकै रदीप महर्जन र भुवन श्रेष्ठको जोडीलाई २१-४ र २१-१५ ले हराए ।