काठमाडौं । ४४ औं राष्ट्रिय एथलेटिक्स प्रतियोगिता अन्तर्गत ३ हजार मिटरमा एपीएफ क्लबका गोपी चन्द्र पार्की र बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले स्वर्ण पदक जितेकी छिन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार पुरुषतर्फ गोपी र महिलातर्फ सन्तोषीले स्वर्ण पदक जितेका हुन् ।
गोपीले निर्धारित दुरी ८ मिनेट २९ दशमलब ५ सेकेण्डमा पूरा गर्दै स्वर्ण हात पारे ।
यस्तै आर्मीका मुकेश पालले ८ मिनेट ३० दशमलब ० ससेकेण्डको समय निकाल्दै रजत जित्दा कास्य विजेता आर्मीका दीपक अधिकारीले ८ मिनेट ३८ दशमलब ० सेकेण्डको समय निकाले ।
नेपाल एथलेटिक्स संघको आयोजनामा भईरहेको प्रतियोगिता अन्तर्गत सन्तोषीले निर्धारित दुरी १० मिनेट ०६ दशमलब ७ सेकेण्डमा पूरा गरिन् । सन्तोषीले १५ सय मिटरमा समेत स्वर्ण जितेकी थिइन् ।
महिलातर्फ पुलिसकी राजपुरा पछाईले १० मिनेट ०८ दशमलब ४ सेकेण्डसहित रजत जितिन् । कर्णालीकी राममाया बुढाले १० मिनेट ४१ दशमलब ९ सेकेण्डसहित कास्य हात पारिन् ।
प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोली (आर्मी÷प्रहरी÷सशस्त्र) गरी १० टिमबाट २ सय ४० खेलाडीको सहभागि छन् ।
प्रतियोगितामा ३१ स्वर्णका लागि प्रतिस्पर्धा भईरहेको छ ।