काठमाडौं । बंगबन्धु बंगलादेश-नेपाल अन्तराष्ट्रिय रग्बी सिरिज अन्तर्गत सेभेन 'ए' साइडको दुबै खेलमा नेपाल पराजित भएको छ ।
ढाकामा मंगलबार रग्बी सेभेनको दुई खेलमा पराजित भएसँगै नेपालले सिरिज २-० ले गुमाएको छ ।
सिरिजको पहिलो खेलमा नेपाल बंगलादेशसँग २०-० को स्कोरले पराजित भएको हो ।
खेलमा नेपालले पहिलो हाफमा १० तथा दोस्रो हाफमा १० स्कोर खान पुगेको थियो।
बंगलादेशले खेलमा कुल ४ वटा ट्राई हान्न सफल भयो।
प्रत्येक ट्राई (विपक्षीको अन्तिम ट्राइ लाइनमा दौडेर बल पुर्याउने ) बाट ५ स्कोर दिइन्छ।
बंगलादेशबाट नदिम मेहमुदले २ ट्राई तथा सोहेल राना र अनवर जमानले १/१ ट्राई गरेका थिए।
यस्तै दोस्रो खेलमा नेपाल १९-० ले पराजित भयो । पहिलो खेलको तुलनामा खेलाडीहरुले स्तरीय प्रदर्शन गरेका थिए । बंगलादेशका मोहम्मद नदिमले ७, अनवर जमानले ७ तथा ओबेडुर रहमानले ५ स्कोर गरे ।
बंगलादेशविरुद्ध नेपालका ४ जना खेलाडीहरुले राष्ट्रिय रग्बी ७ टोलीमा डेब्यु गरेका छन्। पुजन फेवाली, रामकृष्ण चौधरी, शेरबहादुर ओली र निरोज कार्कीले डेब्यु गरेका हुन् ।
पुजन सुरुआती ७ खेलाडीमा परे भने चौधरी कप्तान क्षेत्रीको स्थानमा तथा ओलीले पुजन फेवालीलाई स्थानान्तरण गरेका थिए । दोस्रो खेलमा निरोजले डेब्यु गर्ने अवसर पाए । उनी कप्तान क्षेत्रीको स्थानमा मैदान प्रवेश गरेका थिए ।
अब नेपालले भोली बुधबार रग्बी १५ को पहिलो आधिकारिक प्रतियोगिता खेल्नेछ । पछिल्लो समय नेपालले सन् २०१८ मा सिंगापुरमा एसिया रग्बी सेभेन्स ट्रफीमा प्रतिस्पर्धा गरेको थियो ।