काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा पंकज बिक्रम नेम्बाङ निर्वाचित भएका छन् ।
काठमाडौंको बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा सोमबार भएको निर्वाचनबाट नेम्बाङ निर्वाचित भएका हुन् ।
अध्यक्षका अर्का प्रत्यासी कर्माछिरिङ शेर्पालाई पराजित गर्दै नेम्बाङ अध्यक्षमा निर्वाचित भएका हुन् ।
नेम्बाङले ४५ मत प्राप्त गर्दा शेर्पाले ३९ मत प्राप्त गरे ।
अध्यक्षमा निर्वाचित नेम्बाङ को हुन् ?
झापा धुलाबारीका स्थायी वासिन्दा नेम्बाङ रोलिङ क्लबबाट फुटबलमा छिरेका हुन् । स्थानीय स्तरका फुटबल खेलाडी समेत रहेका नेम्बाङ रोलिङ क्लब हुँदै झापा जिल्ला फुटबल संघका छिरेका थिए ।
नेम्बाङ पहिलो पटक बिस २०५९ सालमा एन्फाको केन्द्रिय सदस्य भएका थिए । उनी चार वर्षअघि उपाध्यक्षमा निर्वाचित भएका थिए । तर, पछि उनलाई वरिष्ठ उपाध्यक्षमा चयन गरिएको थियो ।
निर्वतमान अध्यक्ष कर्मा छिरिङ शेर्पाको प्यानलबाट उनी चार वर्षअघि उपाध्यक्ष निर्वाचित भएका थिए । सोमबार उनै शेर्पालाई हराएर नेम्बाङ अध्यक्षमा निर्वाचित भए ।
भद्र स्वभावका नेम्बाङ लामो समयबाट एन्फाको सुद्दिकरणमा लाग्दै आएका थिए ।
'चेन्ज एन्फा' को नारासहित नेम्बाङ शेर्पासँग मिलेर फिफाको प्रतिबन्धमा रहेका तत्कालिन एन्फा अध्यक्ष गणेश थापाविरुद्ध आन्दोलनमा होमिएका थिए ।
पछिल्लो समय उनी त्यहिँ नारा बोकेर शेर्पाविरुद्ध आवाज उठाउदै आएका थिए । तर, हालको निर्वाचनमा उनलाई थापा समर्थक व्यक्तिहरुकै सहयोग रहेको थियो ।
नेम्बाङ पछिल्लो समय एन्फामा हुने गरेको आर्थिक अनियमिताबारे आवाज उठाउदै आएका थिए ।
यस्तै उनी गत वर्ष विवादमा समेत तानिएका थिए ।
गत वर्षको साउनमा नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेम्बाङको कारण देखाएर राजीनामा घोषणा गरेपछिउनी विवादमा तानिएका थिए ।