पोखरा । एथलेटिक्स टयालेन्ट हन्ट (प्रतिभाको खोजी) प्रतियोगिता सोमबार पोखरामा सम्पन्न भएको छ।
प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजनामा गत जेठ २८ देखि पोखरा रंगशालामा आयोजना भएको प्रशिक्षणमा गण्डकी प्रदेशका ८ वटा जिल्लाका १८ बर्ष मुनिका ३४ जना खेलाडीहरुले सहभागिता जनाएका थिए ।
उनिहरुलाई सोमबार एक कार्यक्रमकाबिच प्रदेश खेलकुद परिषद् गण्डकीका उपाध्यक्ष ध्वजकुमार गुरुङ, सदस्य सचिव तेजबहादुर गुरुङ, एथलेटिक्सका अन्तर्राष्ट्रिय प्रशिक्षक शुसिलनरसिंह राणा, परिषद्का सदस्य एवं संयोजक खगेन्द्र क्षेत्री लगायतले प्रमाणपत्र वितरण गरे ।
युवा खेलाडीहरुमा भएको प्रतिभाको खोजी गर्ने उद्देश्यले मध्यम र लामो दुरीका खेलाडीहरुका लागि आयोजना गरिएको प्रशिक्षणमा मुख्य प्रशिक्षक शुसिल नरसिंह राणासहित १३ जना प्रशिक्षकहरुले १० दिन सम्म आवासीय रुपमा प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा प्रदेश खेलकुद परिषद् गण्डकीका उपाध्यक्ष ध्वजकुमार गुरुङले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा लागु गर्न खेलाडीहरुलाई आग्रह गरे । उनले आगामी असोज २८ देखि कात्तिक ३ सम्म गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा एथलेटिक्समा मेडल प्राप्त गर्ने उद्देश्यसहित अभ्यास गर्न खेलाडीहरुलाई सुझाव दिए ।
परिषद्का सदस्य सचिव तेजबहादुर गुरुङले परिषद् सदैव खेलाडीहरुहरुको साथमा रहेको बताए । उनले खेलाडीहरुको क्षमता अभिवृद्धिका लागि आगामी बर्षदेखि जिल्ला जिल्लामा पुगेर खेलाडी छनोट गर्ने आफूहरुको योजना रहेको बताए । सदस्य सचिव गुरुङले एथलेटिक्स सहित अन्य प्रशिक्षणहरुलाई निरन्तरता दिने बताउँदै छिट्टै नै नवौं राष्ट्रिय खेलकुदको तयारीमा जुट्ने समेत बताए ।
स्पोर्ट्स फर अल कमिसन गण्डकीका अध्यक्ष खड्गबहादुर रानाभाट, परिषद्का कार्यकारी सदस्य दिलबहादुर गुरुङ, मुख्य प्रशिक्षक राणाले प्रशिक्षणमा सिकेका कुराहरुलाई व्यवहारमा कार्यान्वयन गर्न खेलाडीहरुलाई सुझाव दिए । प्रशिक्षार्थी सुरेन्द्र चापागाईँले १० दिने प्रशिक्षणबाट आफूहरुले धैरै कुरा सिक्ने मौका पाएको भन्दै खुसी व्यक्त गरे ।