सुर्खेत । प्रतिभावान खेलाडी उत्पादन गर्ने लक्ष्य सहित पहिलो पटक सुर्खेतमा प्रथम काँक्रेविहार खुला पुरुष हाफ म्याराथन तथा छात्र–छात्रा ५ किलो मिटर विद्यालय स्तरको दौड प्रतियोगिता हुँदैछ ।
शुक्रबार विरेन्द्रनगरमा प्रतियोगिताको अन्तिम तयारीबारे जानकारी गराउने उद्देश्यले आयोजना गरिएको पत्रकार सम्मेलनमा आयोजकले प्रतियोगितालाई कर्णालीको भविष्यसँग जोडिएको बताएका छन ।
‘कर्णाली दोडिन्छ’ भन्ने नाराका साथ मंगलबार हुने प्रतियोगितामा देशभरका खेलाडीहरुको सहभागिता हुनेछ । कर्णाली प्रदेश खेलकुद विकास परिषदको समन्वय र मिड वेष्टन फिटनेस सेन्टर सुर्खेतको आयोजनामा हुने लागेको म्याराथन र ५ किलोमिटर दौडमा करिब १ हजार धावकको सहभागिता रहने रेस डाइरेक्टर बिक्रम जंग थापाले बताए । हाफ म्याराथनमा २ सय र विद्यालय स्तरको दौडमा ८ सय भन्दा बढिले प्रतिस्पर्धा गर्ने थापाले बताए । जुन नेपालमा हुने म्याराथनमा सर्वाधिक सहभागितामा पर्ने थापाले पत्रकार सम्मेलनमा बताए ।
आयोजक मिड वेष्टन फिटनेस सेन्टर संस्थापक एवम् कर्णाली प्रदेश खेलकुद विकास परिषद उपाध्यक्ष प्रमोद हमाल कर्णालीमा म्याराथनको स्तर र पर्यटन प्रवद्र्धनमा प्रतियोगिताले महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताए ।
कर्णाली प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव विश्वमित्र सन्ज्याल काँक्रेविहार खुला पुरुष म्याराथन र स्कुल स्तरीय ५ किलोमिटर दौडले समग्र कर्णालीको खेलकुद गतिविधिलाई बढाउन उर्जा थप्ने बताए।
पछिल्लो समय कर्णालीले १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको तयारी गरिरहेको बेला पुर्वाधार निर्माण निकै फड्को मारिरहेको सदस्य सचिव सन्ज्यालले बताए । सुर्खेत जिल्ला एथ्लेटिक्स संघको प्राविधिक सहयोग रहेको प्रतियोगिता आयोजनाका लागि करिब १२ लाख ६० हजार बजेट आवश्यक पर्ने आयोजकले बताएको छ । त्यसमा कर्णाली प्रदेश खेकलुद परिषदले ६ लाख रकम सहयोग गरेको छ । अन्य अपुग रकम आयोजकले निजि स्तरबाट जुटाउने प्रयास गरिरहेको छ ।
म्याराथनका ‘रेस डिरेक्टर’ विक्रम जंग थापाले कर्णालीमा हुन लागेको म्याराथनले कर्णाली क्षेत्रको एथलेटिक्स विकासमा नयाँ उचाई थप्ने विश्वास व्यक्त गरे ।
प्रतियोगिता अन्तर्गत हाफ म्याराथन तर्फको विजेताले ७१ हजार, दोस्रोले ४१ हजार, तेस्रोले ३१ हजार, चौथोले २० हजार, पाँचौले १५ हजार र छैटौंले १० हजार रुपैयाँ पाउनेछन । विद्यालय तर्फको ५ किलोमिटर विजेता छात्र–छात्राले समान रुपमा १० हजार, दोस्रोले ७ हजार र तेस्रोले ५ हजार पाउनेछन ।
प्रतियोगिताको रुट विरेन्द्र चौक रहेको छ । विरेन्द्र चौकबाट सुरु हुने म्याराथन बुलबुले, एयरपोर्ट चोक, पिपिरा चौक, धुलियाविट चोक, सुब्बा कुना हुँदैं फर्किएर बधशाला, हिलेखाली पुल, बाङगेसिमल, खोर्केखोला पुल हुँद पुन विरेन्द्र चौकमा आएर समापन हुनेछ ।