पोखरा । प्रथम गण्डकी प्रदेश स्तरीय जिम्न्यास्टिक प्रतियोगितामा कास्कीका रोशन पुन र सीताकुमारी खड्का प्रथम भएका छन् ।
कास्की जिल्ला जिम्न्यास्टिक संघले आयोजना गरेको प्रतियोगिता अन्तर्गत शनिबार भएको प्रतियोगितामा महिलातर्फ सीता कुमारी पुन प्रथम हुँदा सुबि भासिका द्वितीय र कृति खत्री तृतीय भइन् । पुरुषतर्फ रोशन सर्वोत्कृष्ट रहँदा कास्कीकै विशाल पुन द्वितीय र बाग्लुङका कृष्ण कँडेल तृतीय भए ।
प्रतियोगितामा विजेताहरुले मेडल र प्रमाणपत्र प्राप्त गरे । कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ, गण्डकी प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष ध्वजकुमार गुरुङ, जिम्न्यास्टिक संघका केन्द्रीय सदस्य योगेन्द्र गुरुङलगायतले उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार प्रदान गरे ।
मन्त्री गुरुङले पोखरा रंगशालामा जिम्न्यास्टिक खेल अभ्यासका लागि स्थान उपलब्ध गराएको जानकारी गराउँदै गण्डकी प्रदेश सरकार खेल विकासका लागि प्रतिबद्ध रहेको बताए ।
संघ कास्कीका कार्यवाहक अध्यक्ष राजु कायस्थले प्रत्येक खेलका लागि जिम्न्यास्टिक सहायक खेल भएकोले जिम्न्यास्टिकलाई खेलको जननी मानिएपनि सो अनुसार प्राथमिकतामा पर्नुपर्नेमा जोड दिए ।
सचिव प्रकाशचन्द्र सापकोटाले जिम्न्यास्टिक खेलको विकासका लागि राज्यले ध्यान दिनुपर्ने बताए । नेपालमा २०२३ सालमा जापानी सहयोगमा जिम्न्यास्टिक खेलको सुरुवात भएको पाइन्छ । त्यसको चार वर्षपछि राष्ट्रिय खेलकुद परिषद (राखेप)ले जिम्न्यास्टिक संघ गठन गरेको थियो ।