काठमाडौं । शारीरिक सुगठनको सबैभन्दा पुरानो संस्था नेपाल ब्यायाम मन्दिरले धर्मश्री अन्तर्गत फिजिक विधा विवादबारे निर्णायक मण्डल र आयोजक समक्ष अपिल नगरी खेलाडीहरुले सम्मानित संस्थालाई बदनाम गर्न खोजेको जनाएको छ ।
आयोजक ब्यायाम मन्दिरले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै शारीरिक सुगठनको पुरानो र सम्मानित संस्थालाई बदनाम गर्ने कार्य देखिएको जनाउँदै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
यस्तै ब्यायाम मन्दिरले त्यस्तो कार्य नगर्न अपिल समेत गरेको छ ।
धर्मश्री प्रतियोगिता अन्तर्गत पहिलो पटक समावेश गरिएको पुरुष तथा महिला फिजिक विधामा सहभागी खेलाडीहरुले गत आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा धाँधली भएको आरोप लगाएका थिए ।
फिजिकको पुरुष विधामा प्रतिस्पर्धा गरेका सागर विक, अवतार श्रेष्ठ, अनुज मास्के, गोपाल लिम्बु, बिशुराम केसी तथा महिलाका सनम मुलगुढी र पुजा श्रेष्ठले पत्रकार सम्मेलन गर्दै धाँधली भएको आरोप लगाएका थिए ।
तर, आयोजकले खेलाडीले अपिल नगरी विभिन्न संचारमाध्यममा गएर संस्थाको बदनाम गर्न खोजिएको जनाएको छ।
'यहि बैशाख २३ र २४ गते नेपाल ब्यायाम मन्दिरद्वारा आयोजना गरिएको १६ औ धर्मश्री अन्तरगत भएको प्रथम पुरुष तथा महिला फिजिकतर्फ भएको निर्णय प्रति चित्त नवुझी आधिकारीक संकाय निर्णायक मण्डल र आयोजक समक्ष कुनै अपिलनै नगरी विभिन्न संचारमाध्यम तथा सामाजिक संजालमा आएको समाचारको ध्यानाकर्षण भएको र यदि कुनै निर्णय उपर चित्त नवुझेमा आधिकारीक संस्थामा अपिल गरि समस्या समाधान गरिनु पर्नेमा त्यस्तो नगरिएको र शारीरिक सुगठनको पुरानो र सम्मानित संस्थालाई बदानाम गर्ने कार्य देखिएकोमा खेद ब्यक्त गर्दै त्यस्तो काय नगर्न नेपाल ब्यायामले प्रेश बिज्ञप्ती मार्फत अपिल गरेको छ,' अध्यक्ष नारायण प्रधानले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
प्रतियोगितामा फिजिकको पुरुषतर्फ आयोजक नेपाल ब्यायाम मन्दिरका आश्वत स्थापित र महिलातर्फ द फिटनेश टेम्पल भक्तपुरकी जासमिन लामाले उपाधि जितेका थिए ।