काठमाडौं । भारोत्तोलन खेलाडी सन्जु चौधरीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज दशरथ रंगशालामा राखिने भएको छ।
ललितपुरको लुभुमा मंगलबार झुन्डिएको अवस्थामा मृत भेटिएकी सन्जुको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि त्रिपुरेश्वरस्थित रंगशालामा राखिने भएको हो ।
भारोत्तोलनका प्रशिक्षक पार्थ सारथिसेन गुप्ताले अन्त्यष्टिका लागि गृहनगर नेपालगन्ज लैजानु अघि उनको पार्थिव शरीरलाई रंगशालामा राखिने जानकारी गराए । पाटन अस्पतालमा पोस्टमाटमपछि सन्जुको पार्थिव शरीर रंगशाला ल्याईनेछ ।
१३ औं दक्षिण एसियाली खेलकुदमा नेपालका लागि ऐतिहासिक स्वर्ण जितेकी सन्जुको प्रारम्भिक रिपोर्ट आत्महत्या देखिएको छ ।
१९ औं एसियाली खेलकुदका लागि बन्द प्रशिक्षणमा सामेल हुन उनी काठमाडौं आएकी थिइन् । उनी एसियन गेम्सका लागि प्रारम्भिक छनोटमा परेकी थिइन् ।
बाँके घर भएकी सन्जुले १३ औं सागमा महिला ५९ केजी तौल समूहमा श्रीलंकाका खेलाडीलाई पछि पार्दै स्वर्ण जित्न जितेकी थिइन् ।